आज हरितालिका तीजको विशेष दिन
काठमाडौैं । आज हरितालिका तीजको विशेष दिन महिलाहरुद्वारा नाचगान गरी धुमधामका साथ मनाइँदैछ । एक महिना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा तोकिएको छ ।
बुधबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
यस वर्ष पनि तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर नखुल्ने भएको छ । पशुपतिनाथ मन्दिर वैशाख पहिलो सातादेखि नै बन्द गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम केही कम भएकाले तीज व्रतको भोलिपल्ट यही भदौ २५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्ने पशुपति क्षेत्र विकास कोषको तयारी छ ।
पशुपतिनाथ मन्दिर बन्द रहे पनि पशुपति क्षेत्रमा भने भक्तजन आउन पाउने कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए । पशुपति क्षेत्रमा आउँदा मास्क अनिवार्य लगाउन, भौतिक दूरी कायम गर्न भने कोषले आह्वान गरेको छ । पशुपतिनाथबाहेकका अन्य धेरै मन्दिर खुलेकाले भक्तजनलाई सजिलो भएको छ ।