आफ्नै यथार्थले फुराएको ‘बेचेर सपना’

बेचेर सपना मैले रात किनेको छु
होस लिलाममा राखी मात किनेको छु


माथिको गजल श्रीभक्त पौडेलले रचना गरेका हुन् । गायक थानेश्वर गौतमले आवाज भर्दैनथे भने करिब वर्षदिनअघि पौडेलले रचना गरेका यी शब्दहरु सायद गजलमा मात्रै सिमित हुन्थे ।


तर, अहिले यो गजल गीत बनेको छ । यस्तो गजल गीत जसको शब्दले वर्षभरमा उत्कृष्ट शब्दको पुरस्कार पायो । त्यतिमात्रै होइन गायकीमा समेत उत्कृष्टको ताज पायो यहि गजल गीतले ।


तीन महिनाअघि जननी नेपालको यूट्युव च्यानल मार्फत सार्वजनिक भएको बेचेर सपना गजल गीतलाई अहिलेसम्म २.२ मिलियन दर्शकले हेरिसकेका छन् । तीन हजार १ सय चालीस जनाले गजल सुनेर प्रतिकृया दिएका छन् । जसमा अधिकांशको प्रतिकृया आफ्नै जीवनसँग मेल खाने भन्ने खालका छन् ।

हुन त गीत सुन्दा निरस भाव लाग्छ । तर, एकान्तमा बसेर गजल सुन्नेलाई जीवनको पाइला पाइलाको यथार्थ झैँ भाव हुन्छ ।
वर्षदिनअघि स्पेनको एक गल्लीमा एक्लै हिँडिरहँदा आफ्नै विगतसँग घोत्लिरहेका थिए श्रीभक्त । आफ्नो जीवनको एक एक घटनाक्रम युरोप आएपछिका दैनिकीहरु उनका स्मृतीमा ताजा भए ।


नेपालमा छोडिएका परिवार, आफन्त, साथीभाइको स्मृतीले उनलाई भावुक बनायो । त्यो समय विश्वलाई कोभिड १९ ले थला पारेको थियो । उनकै पनि कानूनी कागजातहरु विना कारण नविकरण भएको थिएन ।


विदेश गएपछि चाँडो र धेरै कमाइ गरोस् अनि समाजमा हाइफाइ होस् भन्ने अधिकांश नेपाली समाजमा छ । त्यति दबाब उनलाई पनि छ । जिन्दगीको हर पाइलामा कुनै कुनै कुराको अभावमा बाँचेको हुन्छ मान्छे । कसैले सम्पत्तीको अभाव कसैलाई आफ्नाहरुकै मायाको । श्रीभक्त पनि यी सबै अभावको भुक्तभोगी हुन् ।


आफ्नो अभाव र तनाबबीचका सबैजसो स्मृती उनमा ताजा भएको थियो त्यो समय । तिसबै स्मृती र आफ्नै अवस्थाले थिचिएका उनलाई अनायसै बाटैबीच शब्द फुर्यो, ‘बेचेर सपना मैले, रात किनेको छु ।’


उपभोक्तावादको चरम अवस्थामा पुगेको यो समाजमा मान्छेका जीवनमा खरिद बिक्री नहुने चिज सायदै केही होला ! गजल गीतको रचना गर्भ सुनाउँदै उनले भने, ‘आफ्नै यथार्थले फुराएको गजल हो बेचेर सपना ।’


श्रीभक्तका थुप्रै गजल, हाइकु, लघुकथा छन् । तर, उनी बनिबनाउ योजनाका साथ साहित्य रचना गर्न बस्दैनन् । यो गजल पनि उनले घर फर्किएर मात्रै पुरा गरेका थिए । उनको सोही गजलले काठमाडौँमा सोमबार भएको एक समारोहमा दुई विधामा अवार्ड पाएको छ । क्रियटिभ इन्साईट मिडियाले गरेको छनौटमा उत्कृष्ट आधुनिक गजल विधामा उनका शब्दहरुले अवार्ड पाएको हो भने उत्कृष्ट गायकीमा गायक थानेश्वर गौतमले अवार्ड पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्