आयाल निगम विरुद्ध उपभोक्ता मञ्चको उजुरी
काठमाडौँ । आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले संसदीय समितिमा आयल निगमविरुद्ध संसदीय समितिमा उजुरी दिएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा तत्काल इन्धनको मूल्य घटाउन माग गर्दै मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले उजुरी दिएका हुन् ।

अन्तर्राष्ट्रिय बजारमा केही दिनदेखि इन्धनको मूल्य निरन्तर घटे पनि निगमले मूल्य घटाएको छैन । उजुरीमा पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे बमोजिम नेपाल आयल निगमले मूल्य नघटाएको आरोप छ ।
‘अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य तीन महिनादेखि लगातार घट्दै आएको र इन्डियन आयल कर्पोरेसनले समेत विगत २ महिनादेखि नेपाल आयल निगमलाई घटेकै मूल्यमा पट्रोलियम पदार्थको आपूर्ति गर्दै आएको छ । तर पनि नेपाल आयल निगमले विभिन्न बहानामा मूल्य घटाएको छैन,’ मञ्चले उजुरीमा भनेको छ, ‘मूल्य बढ्दा स्वचालित मूल्य प्रणाली भन्दै मूल्य बढाउने तर अन्तर्राष्ट्रिय मूल्य घट्दा मूल्य नघटाउँदा उपभोक्ता मारमा परेका छन् ।’
निगमले बेइमानी कपटपूर्ण व्यवहार गरेको पनि मञ्चको आरोप छ । उजुरीमा भनिएको छ, निगमले उपभोक्ता ठग्ने काम गरेकोले तत्काल समितिले पहल कदम लिइ मूल्य घटाइ नागरिकलाई राहत दिलाउनु अनुरोध गर्दछौँ ।