चितवन २ : त्रिपक्षीय भिडन्तमा अघिअघि कृष्णभक्त
हरिप्रसाद पोखरेल
अहिले सामाजिक सञ्जालमा एउटा ह्वीम आएको छ,–‘नो नट फर अगेन ।’ अर्थात् फेरि पुराना नेतालाई मौका नदिउँ । यसको एउटै कारण हो, हामीले पटक पटक जिताएर पठाएका नेताले हाम्रा लागि केहि गरेनन् । यसैले उनीहरुलाई बहिष्कार गर्नैपर्छ । समाजमा सामाजिक सञ्जालको बढ्दो प्रभावले गर्दा यो नाराप्रति धेरै आकर्षित पनि छन् ।

‘नो नट फर अगेन’ को तारोमा पर्नेमध्येका एक हुन्, कृष्णभक्त पोखरेल । जो चितवन क्षेत्र नम्बर २ बाट संघीय सांसदका उम्मेदवारका रुपमा फेरि पनि चुनावी मैदानमा उत्रिएका छन् ।
यसपालिको निर्वाचनमा बिजय प्राप्त गरेको खण्डम उनी तेस्रोपटक यस क्षेत्रबाट नेकपा एमालेबाट सांसद हुँदैछन् । यसअघि २०७० र २०७४ को निर्वाचनबाट पोखरेल लगातार सांसद भईसकेका व्यक्तित्व हुन् ।
अहिले राजनीतिक दल र नेतृत्वप्रति जनताको एउटै गुनासो छ–‘नेताहरुले केहि गरेनन् । आफूमात्रै बने र आफ्नालाई मात्रै बनाए ।’ वास्तवमा ‘नो नट फर अगेन’ को नारा पनि यही भएर आएको अनुमान लगाउन सकिन्छ ।
आफ्ना चुनावी प्रतिबद्धता अनुसार कतिपय नेताहरुले काम नगरिदिँदा राजनीतिक दल र नेतृत्वप्रति आलोचना हुनु स्वाभाविकै पनि हो । तर आफ्नो हकमा भने कृष्णभक्त पोखरेल प्रष्ट छन् ।
चुनावी घरदैलोका क्रममा निकै उत्साहका साथ अभियान चलाइरहेका पोखरेलसँग यही आशयसहितको जिज्ञासा राख्दा उनले भने–‘म जे गर्नका लागि सांसद भएको थिएँ, जनताले दिएको त्यो अभिभारा मैले पूरा गरेको छु । अब प्राविधिक रुपले बाँकी रहेका काम पनि पूरा गर्नेछु ।’ को कतिपटक सांसद भयो भन्ने कुरा मुख्य नभइ सांसदले प्रतिवद्धता गरेअनुरुप काम गरे नगरेको मूल्याँकन गर्नुपर्ने पनि उनको भनाई छ ।
‘मैले सांसद भएर देशको संविधान, कानून निर्माण र आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि गरेको कामको ठेली नै छ । जनताले यसले मूल्याँकन अवश्य नै गर्नेछन् ।’–पोखरेलले भने ।
यसपालिको निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट संघीय सांसदका लागि १६ जनाले प्रतिष्पर्धा गर्दैछन् । तर मुख्य प्रतिष्पर्धा चाहिँ पोखरेलसहित सत्ता गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेबीच ‘त्रिपक्षीय’ हुने देखिन्छ । पोखरेल भने यसपटक पनि आफूले निर्वाचन जित्नेमा ढुक्क छन् ।
चितवन–२ को भूगोल मुख्य बजार, सदरमूकाम र पहाडि क्षेत्रसम्म फैलिएको छ । इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकासहित भरतपुर महानगरपालिकाको १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ नम्बर वडाहरु यस क्षेत्रमा पर्छन् । यसपटक १ लाख २४ हजार २१५ मतदाताले चितवन–२ बाट मतदान गर्दैछन् ।
पोखरेलका प्रतिष्पर्धि गठबन्धन तर्फका उम्मेदवार श्रेष्ठ प्रधानमन्त्री शेरवहादुर देउवाका प्रमुख विश्वासपात्र हुन् । आर्थिक हैसियत राम्रो भएका शैक्षिक व्यक्तित्वका रुपमा उनी परिचित छन् । उनलाई प्रमुख पार्टीहरु काँग्रेस, समाजवादी र माओवादी केन्द्रको साथ छ । श्रेष्ठ पहिलोपटक चितवनबाट निर्वाचन लड्दैछन् । स्वास्थ्य राज्यमन्त्री समेत रहेका श्रेष्ठले चितवनमा पर्यटन तथा स्वास्थ्य क्षेत्रमा लगानीसमेत गरेका छन् ।
सञ्चार क्षेत्रबाट राजनीतिक यात्रामा निस्किएका अर्का उम्मेदवार रवि लामिछाने ‘युवा सेलिब्रेटी’ का रुपमा परिचित छन् । पटक पटक ‘टेष्टेड’ गरिएका नेतालाई अब फेरि पनि मौका दिन नहुने उनको प्रमुख चुनावी एजेण्डा छ । बाँकी अन्य उम्मेदवारहरुको उपस्थिति अहिलेको निर्वाचनमा न्यून नै देखिन्छ ।
एमालेका पोखरेलका लागि यतिबेला चुनावी चुनौति बनेर निस्किएका दुई पात्र हुन् काँग्रेसका श्रेष्ठ र स्वतन्त्र पार्टीका लामिछाने । साथै ‘नो नट फर अगेन’ को नारा लगाइरहेका पुस्ता पनि पोखरेलका लागि चुनौति बनेर निस्किरहेका छन् ।
यो चुनौतिलाई साम्य पारेर यसपालिको चुनावी नतिजा आफ्नो पक्षमा पार्न भने पोखरेल कस्सिएकै छन् । उनलाई विश्वास छ, फेरि पनि जनताले पहिले जसरी नै मत दिनेछन् भन्नेमा । यत्रो चुनौतिका बीच यत्रो आत्मविश्वास कसरी पलायो त ? पोखरेलले एउटै वाक्यमा भने,‘एमालेले लिएको नीति, मेरो व्यक्तित्व र मैले विगतमा गरेका कामले नै मेरो आत्मविश्वास बढेको हो ।’
यही आत्मविश्वासलाई जनताले साथ दिए भने चितवनबाट लगातार तेस्रोपटक निर्वाचन जितेर ह्याट्रिक गर्ने तयारीमा पोखरेल छन् ।
चितवन–२ मा भेटिएका केहि मतदातासँगको कुराकानी, प्रतिष्पर्धि दल र उम्मेदवारको अवस्था, विगतको निर्वाचन परिणाम, पोखरेलको आफ्नै व्यक्तित्व, उनका विगतका काम, आगामी प्रतिवद्धता र एमालेले लिएको नीतिलाई केलाउँदा अहिलेको असहज अवस्थामा पनि पोखरेल ‘सहज ह्याट्रिक’ गर्ने अवस्थामा छन् । जसका केहि आधारहरुलाई यसरी विश्लेषण गर्न सकिन्छ ।
विगतका निर्वाचन
आगामी निर्वाचन परिणाम कसको पक्षमा जाँदैछ भन्ने अनुमान गर्न विगतमा भएका निर्वाचन परिणामलाई पनि आधार मान्नुपर्ने हुन्छ । यद्दपि उम्मेदवारले विगतमा पाएजस्तै मत नपाउन पनि सक्छन् । तर कृष्णभक्त पोखरेलले यसअघि भाग लिएका २ वटा निर्वाचनमा पराजय भोग्नु नपरेको इतिहास छ । आफ्ना प्रतिष्पर्धिलाई ठूलो मतान्तरले उछिनेका पोखरेलसँग निर्वाचनमा सफलता हात पार्ने स्पष्ट खाका पनि छ ।
२०७४ को निर्वाचनमा पोखरेल ४४ हजार ६७० मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिष्पर्धि काँग्रेसका शेषनाथ अधिकारीले उतिबेला २७ हजार ३१४ मत ल्याएका थिए ।
यसैगरी २०७० को निर्वाचनमा पनि पोखरेलले १५ हजार ६६६ मत प्राप्त गरी विजयी भएका हुन् । सो निर्वाचनमा उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका भिमबहादुर श्रेष्ठले १३ हजार २४१ मत प्राप्त गरेका थिए ।
स्थानीय निर्वाचनमा पनि यो क्षेत्रमा एमाले कमजोर छैन । चितवन–२ मा पर्ने सबै वडाहरुमा एमालेले एक्लै प्रतिष्पर्धा गरेको थियो । तर सत्ता गठबन्धनमा रहेका मुख्य दलहरु काँग्रेस, माओवादी र समाजवादीले मिलेरै निर्वाचन लडेका थिए । देशव्यापी रुपमा एमालेका विरुद्ध सत्ता गठबन्धन एक हुँदा पनि एमाले गलेन । स्थानीय निर्वाचनमा पोखरेल उम्मेदवार नभएपनि चुनावी कमाण्डर चाहिँ थिए ।
स्थानीय निर्वाचनमा यस क्षेत्रबाट एमालेका वडाध्यक्षहरुले पाएको मत हिसाब गर्दा एमालेको जम्मा मत ३५ हजार ५४३ रहेको छ । गठबन्धनतर्फका वडाध्यक्षका उम्मेदवारहरुले ३५ हजार ४७४ प्राप्त गरेका छन् । यसेगरी स्वतन्त्रले ५३७ र अन्य दलका वडाध्यक्ष उम्मेदवारहरुको मत २ हजार ४७८ रहेको छ । यस हिसाबले गठबन्धनको भन्दा ६९ मतले यस क्षेत्रमा एमालेको मत नै बढि देखिन्छ ।

स्रोत : निर्वाचन आयोग
पोखरेलको व्यक्तित्व
चितवनको माटोमै कृष्णभक्त पोखरेलले खेलेको ५५ वर्ष भएछ । उनी चितवनमै जन्मे, यही हुर्के । चितवनबाटै औपचारिक शिक्षा लिए । राजनीति चितवनमै सिके । उनले यो सामाजिक र राजनीतिक जीवनमा चितवनलाई नजिकबाट नियालेर काम गरिरहेका छन् ।
२०२४ असार २० गते चितवनमै जन्मेका पोखरेलले कानूनमा स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन् । २०५० देखि अधिवक्ताको रुपमा कानुन व्यवसाय गरि हाल उनले वरिष्ठ अधिवक्ताको उपाधी प्राप्त गरेका छन् ।
नेपाल बार एशोसियसन चितवनको अध्यक्ष भई काम गरेका पोखरेल मानवीयताको क्षेत्रमा सक्रिय रुपमा संलग्न हुनुका साथै बालबालिका तथा महिला अधिकारको संरक्षणमा समेत काम गरिरहेका छन् ।
पोखरेल अहिले नेकपा एमाले बागमति प्रदेश कमिटी सचिवालय सदस्य छन् । यसबाहेक उनीसँग एमाले चितवनको दुई कार्यकाल उपाध्यक्ष र एक कार्यकाल अध्यक्ष भएको अनुभव छ ।
राष्ट्रपतिबाट उनले संविधानसभा पदक प्राप्त गरेका छन् ।
संविधान र कानून निर्माण
देशमा गणतन्त्र आइसकेपछि देशमा संविधान थिएन । नयाँ संविधान सभाको निर्वाचनपश्चात मात्र नेपालमा नयाँ संविधान आउनेवाला थियो । यसक्रममा २०६४ मा संविधान बनाउनका लागि देशमा संविधान सभाको निर्वाचन भयो । तर यो अवधिमा संविधान बनेन । फेरि २०७० मा संविधान बनाउन अर्को संविधान सभाको निर्वाचन भयो ।
यो निर्वाचनमा चितवनबाट कृष्णभक्त पोखरेल पनि निर्वाचित भए । उनको कार्यक्षमताको आधारमा उनलाई संविधानको मस्यौदा समितिमा राखियो । उनीसहितको सहभागितामा संविधानको खाका कोर्ने काम भयो । मस्यौदाले पूर्ण रुप पाइसकेपछि संविधान सभाबाट पारित भएर देशले नयाँ संविधान पाएको हो । यसैले नेपालको संविधान बनाउने कामका लागि उनको महत्वपूर्ण योगदान थियो भन्न सकिन्छ ।
वि.सं. २०७४ देखि २०७९ असोज १ सम्म प्रतिनिधिसभा कानुन, न्याय तथा अधिकार समितिको सभापतिको रुपमा काम गरेका छन् । प्रतिनिधि सभा नियमावली मसौदा समितिको समापतिको रुपमा पनि काम गरिसकेको अनुभव उनीसँग छ ।
२०७० को निर्वाचनबाट संविधानसभा सदस्य भएपछि संविधानको मस्यौदा समिति सदस्यको रुपमा उनले कार्य गरे । जसबाट नेपालले नयाँ संविधान समेत प्राप्त ग¥यो । यसैगरी मुलुकी अपराध संहिताको मस्यौदा समितिको संयाजकको रुपमा काम गरेर कानून निर्माणको नेतृत्व उनले गरे ।
१७६ वटा जति विधेयक उनको समितिबाट पास भएको छ । उनी सभापति भएको कानुन, न्याय तथा मानवअधिकार समितिमा एउटामा पनि अल्पमत र बहुमतमा विभाजन भएन । यसैले सबै पेशा व्यवसायका मानिसलाई टेबुलमा राखेर १७६ वटा कानुन उनले बनाए ।
‘मेरो लागि यो धेरै महत्वपूर्ण विषय हो । मेरो नेतृत्वमा बहुविवाह प्रथा नेपालमा अब सम्भव छैन भनेर स्थापित गर्न सकेँे । बलात्कार गरेर हत्या गर्नेलाई आजिवन कारावास राख्ने जस्तो युग परिवर्तन गर्ने खालका कानुन हामीले पारित गरेका छौं । भूमीहिनलाई जग्गाधनी पूर्जा दिने कानून बनाएर वितरणको थालनी पनि गरेका छौँ ।’– आफूले गरेका कामलाई पोखरेल यसरी सम्झन्छन् ।
‘संविधान सभाको निर्वाचनमार्फत सभासद् भएर संविधान बनाइयो । संघीय संसदको निर्वाचन जितेर ऐन, कानून बनाइयो । वास्तवमा सांसदहरुको वास्तवमा काम नै यही हो ।’– सांसदले गर्ने कामबारे उनी यसरी जानकारी दिन्छन् ।
निर्वाचन क्षेत्रको विकास
देशमा गणतन्त्र आइसकेपछि संविधान र ऐन, कानून निर्माणको कुरा महत्वपूर्ण काम थियो । तर जनस्तरमा सांसदले देखिने गरी काम गर्न नजिकको बाटो, विद्युत, खानेपानी, शिक्षा र भौतिक निर्माणमा पनि उत्तिकै ध्यान दिनुपर्छ । यसैलाई विकासको रुपमा हेर्नेहरुलाई पनि पोखरेलले राम्रै काम गरेका छन् । यसबीचमा संघीय सरकारबाट भएका विकास निर्माणमा समेत पोखरेलको योगदान छ ।
‘यस निर्वाचन क्षेत्र विकासको पहलकदमी गर्न मैले संघ र प्रदेश सरकारसहित इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकासँग सहकार्य गरेर काम गरिरहेँ ।’–पोखरेलको भनाई छ । यी सबै काममा सरकारका तीनै तहमा आफ्नो पहल भएको समेत उनले बताए ।
भरतपुर महानगरभित्रको गोन्द्राङ–पुल्चोक सडक विस्तार परियोजना, भरतपुर सिटी हल निर्माण र भरतपुर बाइपास रोड केन्द्रीय सरकारबाट भएका महत्वपूर्ण पूर्वाधार विकासका कार्यक्रम हुन् ।
निर्वाचन क्षेत्रको पहाडी बस्तीलाई सहजता प्रदान गर्ने शक्तिखोर फिस्लिङ सडक निर्माण सम्पन्नको चरणमा छ । भोर्ले दाहाखानी सडक निर्माणको शुरुवात भएको छ । सडक, विद्युत, विद्यालय, स्वास्थ्य संस्थालगायत विभिन्न संघ संस्थालाई निर्वाचन क्षेत्र विकास कार्यक्रममा अधिकतम समेट्ने प्रयासहरु भएका छन् ।
हात्तीबाङ, चण्डीभञ्जयाङ, दाहाखानी, इच्छाकामना, कुयालघारीलगायतमा क्षेत्रमा अहिले पोखरेलकै प्रयासमा झलमल बिजुली बलेको छ ।
निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत प्राप्त हुने रकमलाई उनले स्थानीय जनताको मागको आधारमा वितरण गरेका थिए । जुन योजनाहरु समयमै सम्पन्न भईसकेका पनि छन् ।
पोखरेलका प्रतिवद्धता
तेस्रोपटक लगातार चुनाव जितेर ‘हयाट्रिक’ गर्ने तयारीमा रहेका पोखरेलले एमालेले लिएको नीति र केन्द्रीय घोषणापत्रलाई टेकेर स्थानीयस्तरमा काम गर्नेगरी केहि आफ्ना प्रतिवद्धताहरु पनि तयार पारेका छन् ।
नागरिकता सम्वन्धी विधेयकमा भएको राष्ट्रियता विरोधी व्यवस्थालाई खारेज गर्नेदेखि भूमिहिन, अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पत्र दिलाउनेसम्मका योजना उनले बनाएका छन् ।
संघ प्रदेश र स्थानीय सरकारको बीचको सम्वन्धलाई अझ बढी समन्वयकारी र प्रभावकारी बनाएर आफm्नो क्षेत्रको विकास गर्ने उनको योजनामा रहेकको छ ।
केही कानुनहरु अझै निर्माण गर्नुपर्नेछ । साझा सूचीका कानुनहरुमा अधिकारहरु बाँडफाँट भएको छैन । त्यसमा पनि महत्वपूर्ण रुपमा काम गर्ने उनको योजना रहेको छ ।
भरतपुर महानगरमा ल्याण्डफिल्ड साइट बनाउने, वैज्ञानिक ढंगले फोहोरको व्यवस्थापन गर्ने र महानगरपालिकासँग साझेदारी गर्दै आफ्नो क्षेत्रका कामलाई पूर्णता दिने कामलाई पनि उनले प्राथमिकतामा राखेका छन् ।
महानगरमा व्यवस्थित रिङरोडको योजना पनि उनको छ । इच्छाकामना र कालिकालाई पनि रिङरोडले घेर्ने योजनामा पोखरेल छन् । सरकारी अस्पताललाई व्यवस्थित गर्ने, विद्यालय सुधार्ने, उच्च माविसम्म निःशुल्क शिक्षा कायम गरी आम जनताका जीवनयापनको अवस्था सुधार्ने लगायतका अन्य योजना उनले ल्याएका छन् ।
सबैका प्रिय
राजनीतिक नेताहरुमध्ये कृष्णभक्त पोखरेलको एउटा राम्रो विशेषता भनेको उनी सबैका प्रिय बन्न खोज्छन् । यस क्षेत्रमा देखिएका अन्य उम्मेदवार भन्दा पोखरेलको कार्यशैलीले उनलाई सबैको प्रिय नै बनाएको छ । वर्षौवर्षसम्म यही क्षेत्रमा रहेका कारण पनि आफ्नासँग त उनी यसै परिचित भइहाले, त्यसमाथि फरक राजनीतिक आस्था र विचार राख्नेसँग पनि उत्तिकै परिचित र प्रिय छन् ।
अनावश्यक रुपमा कसैप्रति विरोध नगर्ने उनको स्वभाव छ । उनी भन्छन्–‘कसैले पनि अरुको टिकाटिप्पणी गरेर फाइदा पनि छैन । अरुको नकारात्मक कुरा केलाउन भन्दा आफ्ना सकारात्मक बिचार, योजना र वास्तविक कुरा जनतासमक्ष दिने हो ।’
एमालेको एउटै मोर्चा बनाएर चुनाव लडेको देखि माओवादीसमेतको संलग्नतामा निर्वाचनमा भाग लिएको इतिहास उनीसँग छ । तर अहिले अवस्था अल्लि फेरिएको छ।
तैपनि उनी यस कुरामा कत्तिपनि बिचलित छैनन् । एमाले विभाजनले कत्ति पनि असर नगरेको पनि पोखरेलको दावी छ । तत्कालीन समयमा समाजवादीका लागेकाहरु अहिले पोखरेलकै प्रचारप्रसारमा हिँडिरहेका छन् । ‘एकाध रुपमा माओवादी र समाजवादीमा रहेका साथीहरुसँग पनि मेरो राम्रो मित्रता छ । सबैले सहयोग गर्छु भनेर प्रतिवद्धता व्यक्त गरिसक्नुभएको छ ।’ विभाजनमा गएका साथीसँग पनि ‘वान टु वान’ कुराकानी गरिरहेको उनले बताए ।
मत संरक्षण जरुरी
चितवन राजनीतिक दृष्टिकोणले सचेत जिल्ला हो । यहाँ जातजाति, धर्म र हल्लाका आधारमा मतदान भएको इतिहास छैन । चितवनमा आस्था र जनतासँगको जनप्रियताका आधारमा मतदान हुने गरेको छ । जनताले जतिखेर पनि भेट्न सक्ने नेतालाई भोट हाल्छन् । यी दुवै कुरामा पोखरेल अन्य प्रतिष्पर्धिभन्दा सहज छन् ।
अहिले समय निर्वाचनको छ । जनताले मनमात्रै दिएर हुन्न, मत पनि दिनुपर्छ । स्थानीय निर्वाचनपछि अहिले नयाँ मतदाता पनि थपिएका छन् । युवा पुस्ताका मतदाता राजनीतिप्रति धेरै आकर्षित छैनन् । हरेक पार्टीका कार्यकर्ता र सदस्यहरु राजनीतिक प्रशिक्षणबाट टाढै छन् ।
देशमा रहेका तीन तहको सरकारका जनप्रतिनिधिले गर्ने खास कामका बारेमा जनता प्रशिक्षित छैनन् । कुन तहको जनप्रतिनिधिले के काम गर्नेबारे जनता अनविज्ञ नै छन् । जनतालाई उत्तर दिन गाह्रो छ । यस्तो अवस्थामा विगतमा पाएको मतले निरन्तरता पाउँछ भन्ने पनि हुँदैन । युवा र नयाँ मतदातालाई आकर्षित गर्न अझ मेहनत गर्नेपर्छ । यसैले विगतमा एमालेले पाएको मतलाई मात्र सुरक्षित गर्न सकेको खण्डमा पनि चितवन क्षेत्र नम्बर २ बाट कृष्णभक्त पोखरेलले लगातार तेस्रोपटक निर्वाचन जितेर ‘ह्याट्रिक’ मार्न सक्छन् ।