जीवनको उदेश्य नै रक्तदान

लिन मात्र होइन, नेपालीहरुले दिन पनि जानेका छन् । अर्जुन मैनाली यस्तो दिने मानिस हुन्, जो दिनका लागि नै संसारभर डुल्ने गर्छन । संसारकै लागि एक अग्रणी रक्तदाता मानिएका अर्जुन मैनालीले अहिलेसम्म झण्डै दुइ सय पटक रक्तदान गरिसकेका छन् । रक्तदानका लागि चेतना फैलाउन विश्वका १६ मुलुक पुगिसकेका छन् ।
कोरोना महामारीका समयमा अरु मानिसहरु डराएर घरभित्र वसिरहेको वेला कोरोनाको हटस्पट मानिएको न्युयोर्कमा उनले भने रक्तदानका लागि अभियान नै चलाएका थिए । आफैंले रक्तदान गर्दै अरुलाई उत्प्रेरित गरेका थिए । कोरोना महामारीको समयमा उनले कसरी रक्तदान गरे भन्ने उनले सामाजिक सञ्जालमा समेत सेयर गरेका थिए । सान्दर्भिक र प्रेरक भएकोले यहां राखिएको छ । पढौ उनको कथा ।
सन २०१९ को नोभेम्बरमा देखिएको कोरोना भाईरस महामारिको रुपमा विश्वब्यापी रुपमा फैलियो । करोडौ मानिसहरु यस रोगबाट बिरामी भए। लाखौंले जीवन गुमाए ।
यस्तो अवस्थामा मानिसहरु डराएर घरभित्रै बस्न थाले । पुर्व निर्धारित रक्तदान कार्यक्रमहरु रद्द भए । रगतको आपुर्ती घट्यो । अस्पतालमा बिरामीहरुले रगत पाउन सकेनन ।
न्यूयोर्क ब्लड सेन्टरले बिरामीहरुको लागि रगत र रक्ततत्व एकदमै कम छ भन्दै मलाई इमेल पठाइ रहे । उनीहरुले सामाजिक दुरी राख्दै मुख र नाकमा मास्क लगाएर सुरक्षित तरिकाले रक्तदान गर्न सकिन्छ भन्नथाले । अमेरिकन रेडक्रस रक्त सेवाले पनि यसै भन्यो ।
मलाई पनि महामारीको बेलामा झन बढी रक्तदान गर्नु पर्छ भन्ने लाग्यो । अप्रिल २४ मा अमेरिकन रेडक्रस,फार्मिङ्गटन,कनेक्टिकटमा रक्तदान गरें । घर फर्केपछि आज मैले रक्तदान गरें नि श्रीमतीलाई भने । समुदायका मानिसहरुलाई पनि रक्तदान गर्न हौसला होस भनेर सामाजिक सन्जालमा रक्तदान गर्दै गर्दाको फोटो राखें । रक्तदान कार्यक्रम आयोजना गर्न सक्ने सम्भावित संघ संस्थालाई यस्तो महामारीका वीचमा पनि मैले रक्तदान भन्ने व्यहोराको इमेल लेखे ।
श्रीमती डराइन । बाहिरको एकजना बिरामी बचाउन घरका सबैजना मार्ने भन्दै गाली गरिन । मैले सम्झाउदै रक्तदान गर्दैमा कोरोना सर्दैन भनेर बुझाउन प्रयास गरें । श्रीमतीले मेरो कुरा सुन्ने प्रयत्न नै गरिनन । त्यसपछि हरेक दुई तीन हप्तामा न्यू योर्क ब्लड सेन्टरमा गएर प्लेटलेटस दान गर्न थाले । त्रास नहोस भनेर श्रीमतीलाई भनिन ।
जुन २६ मा प्रवासी नेपाली एकता मन्चका अध्यक्ष टेक गुरुङ्गले फोन गरेर हामी पनि रक्तदान कार्यक्रम आयोजना गर्छौ भन्नुभयो । वहाँहरु र ब्लड बैङ्कलाई समन्वय गराएँ । रक्तदान कार्यक्रममा आवश्यक खर्चको लागि २०० डलर सहयोग गरे । त्यसपछिका ५ महिनाको अबधिमा बिभिन्न ८ वटा नेपाली संघसंस्थाले न्यूयोर्कमा रक्तदान कार्यक्रम राखे । यी सबै रक्तदान कार्यक्रममा सहभागी भएं । करीब ६०० जना नेपालीहरुले रक्तदान गरे । रक्तदान गर्ने धेरैजसोले रक्तदान गरेका फोटोहरु सामाजिक सन्जालमा राखे । रक्तदान गर्दैमा कोरोना लाग्दो रहेनछ भन्ने श्रीमतीलाई महसुस भएको जस्तो लाग्यो । मैले पनि पछिका दिनहरुमा खुसुखुसु ब्लड बैँक जादै रक्तदान गरेका धेरै फोटोहरु सामाजिक सन्जालमा एकमुष्ट ६ वटा राखेँ । श्रीमती छक्क परिन ।
न्यूयोर्कमा यी कामहरु हुंदै गर्दा नेपालमा पनि रगत संकलन एकदमै कम भइरहेको थियो । कोरोना नफैलियोस भनेर नेपाल सरकारले बिभिन्न कार्यालयहरु बन्द गर्दै जनताहरुलाई घरभित्रै बस्न भनेको थियो । अस्पतालका बिरामीहरुलाई रगत उपलब्ध गराइ राख्न ब्लड डोनर्स एसोसिएसन नेपालले हरेक दिन रक्तदान कार्यक्रम राखेको थियो । मैले पनि रक्तदान कार्यक्रममा आबश्यक खर्चको लागि ५० हजार रुपैया सहयोग पठाएँ । तीन महिनाको अबधिमा १०० वटा रक्तदान कार्यक्रम गर्दा ६ हजार२७२ युनिट रगत संकलन भएछ । यसै गरी रक्तदान कार्यक्रम गरी रहनु भनेर फेरी २५ हजार थप सहयोग पठाएँ ।
कोरोना महामारिका बेला काठमाण्डौमा लकडाउन हुँदा बेरोजगारी मजदुरलाई सामुहिक खाना खुवाउने कार्यक्रममा काठमाण्डौ महानगरपालिका २९ नम्बरका वडा सदस्य अर्जुन बहादुर श्रेष्ठमार्फत दशहजार रुपैया सहयोग पठाएँ । त्यसैताका बाजुरामा र हुम्लाका गरीब ब्यक्तिहरुलाई खाध्यान्न बितरण गर्ने कार्यक्रममा बाजुराका प्रकाशसिंह मार्फत दश दशहजार रुपैया सहयोग पठाएँ । काठमाण्डौको हाम्रो लाइफबैङ्कलाई १५ हजार रुपैया सहयोग गरेँ । बाजुरामा रक्तदाता संस्था गठन गर्न लक्ष्मीराज पाण्डेमार्फत दशहजार रुपैया सहयोग पठाएँ । त्यसै गरी बैतडीमा पनि रक्तदाता संस्था गठन गर्न र जिल्ला अस्पातलसँग मिलेर सम्भाबित युवाहरुको रक्तसमुह परिक्षण गर्न तृप्ति शाहीमार्फत बिसहजार रुपैया सहयोग पठाएँ ।
रक्तदान सम्बन्धी मेरा हरेक गतिबिधि जाजरकोटका जनक के सीलाई थाहा रहेछ । उनले पनि आफ्नो जिल्लामा रक्तदान उत्प्रेरणा कार्यक्रम गर्न इच्छा राखे । बिगतमा जाजरकोटमा रगत अभावमा सुत्केरी तथा बिपन्न समुदायका नागरिकहरुले जीवन गुमाउनु परेको समाचार आएका थिए । त्यस क्षेत्रका युवाहरुमा रक्तदान गराउन उत्प्रेरणा कार्यक्रम गर्नै पर्ने थियो । जनक केसीसंग मिलेर म रक्तदान गर्नेछु भन्ने बिषयमा जाजरकोटका माध्यमिक बिद्यालयहरुमा निबन्ध प्रतियोगिता गराउन ६० हजार रुपैया सहयोग पठाएँ । डिसेम्बर ७ मा सयौं विद्यार्थीको उपस्थितिमा १६ जना विद्यार्थीहरुले निबन्ध प्रतियोगितामा भाग लिएछन। भविश्यमा रक्तदाताहरुको संख्यामा उल्लेख्य वृद्धि गर्न र रक्तदान जस्तो पवित्र काममा युवा पुस्तालाइ यो प्रतियोगिताले प्रेरित गर्छ जस्तो लाग्यो ।
रक्तदान गरेर अरुको जीवन बच्चाउने संसारकै पवित्र काम हो भन्ने सन्देश दिन सके । नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखाका सभापति हरिबहादुर बस्नेतले रक्तदान बढाउनका लागि महत्वपूर्ण सहयोग र चासो राखेको भन्दै मलाई धन्यवाद दिएछन ।
यता न्यू योर्कमा कोरोना महामारिका बेलामा रक्तदान कार्यक्रम आयोजना गर्ने संस्थाका अध्यक्षहरुलाइ वर्ल्ड ब्लड डोनर अवार्डबाट सम्मान गरें । वर्ल्ड ब्लड डोनर अर्जुन मैनाली संस्थाको अध्यक्षका हैसियतले समाजमा राम्रा काम गर्नेलाई सहयोग र सम्मान गर्न पाउनु पनि मेरोलागी ठुलै अबसर थियो ।
यसरी महामारिको यो ९ महिनाको अबधिमा २१ पटक रगत (तिनपटक होल ब्लड र अठारपटक प्लेट्सलेट) दान गरेँ । रक्तदान कार्यक्रम गर्न सहयोग गरेँ । रक्तदान उत्प्रेरणाको लागि सहयोग गरेँ ।
१ पटक रक्ततत्व दान गर्न जाँदा करीब ४ घण्टा समय लाग्दो रहेछ । त्यस हिसाबले २१ पटक दान गर्दा ८४ घण्टा र ८ वटा रक्तदान कार्यक्रममा ५ घण्टाका दरले ४० घण्टा सहित कोरोना महामारी बिच १२४ घण्टा बिताएको छु । यत्तिको समय, साधन श्रोत र रक्तदानबाट समुदायका धेरै बिरामीहरुलाई बच्चाउन सकिएको छ । धेरै धेरै खुशी लागेको छ ।