विग्रिएको क्यामेराले जन्माएको फोटोग्राफी मोह

मनमा फोटोग्राफीको सपना सम्हालेर नेपालको पाल्पादेखि अमेरिकाको वोष्टोन आइपुगेका विमल नेपाल आजकल विदेशी सञ्चार माध्यममा छाएका हुन्छन् । नेपालमा हुंदा आर्थिक पत्रकारको रुपमा प्रसिद्धि कमाएका विमलले अमेरिकी भूमिमा भने चर्चित फोटोग्राफरको रुपमा प्रसिद्धि कमाएका छन् ।
वोष्टनमा आफ्नै स्टुडियो समेत सञ्चालन गर्दै आएका विमलका तस्विरहरु आजकल नेशनल ज्योग्राफी लगायतका चर्चित सञ्चार माध्यममा प्रकाशित हुन्छन् । अमेरिकाका विभिन्न शहरहरुमा फोटो प्रदर्शनी गरेर नेपाल र नेपालीहरुलाई वाहिरी संसारमा चिनाउंदै आएका विमल आजकल धेरै मानिसहरुलाई मोवाइल फोटोग्राफीका लागि पनि अभिप्रेरित गरिरहेका हुन्छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भएको फोटो कपिराइट सम्वन्धी मुद्धाले गर्दा विमल विदेशी सञ्चार माध्यममा समेत समाचारको विषय वनेका थिए । विमलले खिचेको एउटा तस्विर भारतीय प्रधानमन्त्री मोदीले अनुमति नलिइ र क्रेडिट समेत नदिइ दीपावलीको शुभकामना सन्देशमा प्रयोग गरेपछि यो यो मुद्धा र चर्चा सुरु भएको थियो ।
कपिराइट एड्भोकेसीमा सदैव सक्रिय रहेका विमल यही कारण आफ्नै निकटका मानिसहरुसंग पनि विवादमा आउंछन् तर सर्जकको सिर्जनाको कपिराइटको पक्षमा सदैव उभिन्छन । बिश्व प्रशिद्ध हार्वर्ड बिश्वबिद्यालयको मेडिकल स्कुल अन्तर्गतको अस्पताल र अनुसन्धान केन्द्रमा कार्यरत विमलको फोटोेग्राफी मोह र यात्रावारे उनकै प्रस्तुति :
मलाई फोटोग्राफीमा निकै ठुलो रुचि छ, सानै देखि यसप्रति ठुलो लगाव थियो तर एउटा क्यामेरा किन्न सक्ने आर्थिक हैसियत नभएकोले यो रुचि त्यतिकै अलपत्र परेको थियो । बिना क्यामेरा मैले निरन्तर फोटोग्राफी भने सिकेको रहेछु सानैदेखि ।
आफ्नो करियरको उत्तरार्धमा अर्थात् बयालिस बर्षको उमेरमा मैले पहिलो क्यामरा किनेपछि भने मेरो यो यात्रा रोकिएन ।
मेरो बुवा सूर्य नेपाल सौकिन फोटोग्राफर हुनुहुँदो रहेछ, मैले उहाले फोटो खिचेको देख्न त पाइन तर उहाको बिग्रेको क्येमारा भने घरको दराजमा थियो। सायद क्यामेरा बिग्रेपछि उहाँले पनि यो शौख छोड्नु भयो होला। १९५० तिरको सानो ब्राउनी क्यामरा। यो मेरो बाल्यकालको खेलौना थियो । फिल्म नभएको बिग्रेको क्यामेराले मैले हजारौं फोटो कम्पोज गरेंहुला। मलाई सत्तरीको दशकमा लाहुरेहरुको घडी, रेडियो र टेप्रिकट (टेप रेकर्डर(ले कहिले आकर्षित गरेन तर तिनले भिरेको क्येमारा तिर म भुतुक्कै हुन्थें। पर्यटकले फोटो खिचेको हेर्न पछि पछि लाग्थें।

सन् १९८४ तिर मेरो भेट पाल्पा तानसेन मिसन अस्पतालमा स्कट ल्याण्डबाट आएका डाक्टर जिम डनसंग भयो। उनी निकै लामो जूम लेन्स भएको निकोन क्यामरा लिन्थे। क्यामेरा प्रतिको आकर्षणले मैले उनीसंग दोस्ती गासें। पाल्पा तानसेन र मेरो घर माडी चिदीपानीमा चार बर्ष उनीसंगको संगतमा मैले सामान्य फोटो कम्पोज सिकें । उनको खर्चमा निर्धक्क निकै रील फोटो खिचियो । उनि १९८८ नेपाल छोड्दा सबै फोटो लिएर गए तर आफुले उनको सहयोगी भएर खिचेका फोटा राखिएनछ ।
मेरो फोटोग्राफरसंगको संगत देखेपछि मलाई मानिसहरु यो केटाले फोटो खिच्न जानेको छ भनेर गाउँ घरमा बिबाह वा समारोहमा आफ्ना क्यामेरा मलाई दिएर फोटो खिच्न दिन थाले। मलाई पनि रमाइलो लाग्थ्यो।
सन् १९९० मा म जागिर र पढाइको लागि काठमाडौँ झरें। मलाई फोटोग्राफीमा र पत्रकारिता निकै रुचि थियो । कलेजमा कमर्स बिषयमा क्लास चड्दै गएपनि पढाइमा पटक्कै रुचि थिएन। साहित्य, कला र मिडियामा अति रुचि र आकर्षण थियो। म काठमाडौँका आर्ट ग्यालरीहरू, पुस्तकालय अनि ठमेल, दरबारमार्गतिरका पुस्तक पसलमा फोटोग्राफीका किताब हेर्न जान्थें । एक दिन एरिक भ्यालीको ठुलो आकारको हनी हन्टर्स इन नेपाल भन्ने फोटो किताबमा मेरो आंखा पर्यो। नेपालका गुरुङहरुले भिर मौरी काढेको सत्य कथा र तस्वीरहरुले मेरो स्वास रोकियो अनि दिमाग रन्थनियो । हाम्रो सामान्य जनजीवनको फोटो यति असामान्य ? ओहो हो फोटोग्राफी त शब्दभन्दा निकै पावरफुल हुंदोरहेछ भन्ने लाग्यो। यो किताब नै मेरो लागि फोटोग्राफीको सबैभन्दा ठुलो उत्प्रेरणा बन्यो।
म नेपालको जनआन्दोलन १९९० अगाडी काठमाण्डौंका गल्लीगल्लीमा पर्यटकलाई बेचिने किताब र नेपाली पोस्टर अनि पोस्टकार्ड हेर्दै जाँदा मणि लामाका फोटाहरुबाट अतिनै प्रभावित हुन पुगें।अनि त्यसै बेला तिर हिमाल अंग्रेजी पत्रिका र पछि कान्तिपुर दैनिक मा उदियमान नव युबक विकास रौनियारको फोटोहरुले मलाई आकर्षित गर्न थाल्यो।
मलाई पनि क्यामेरा किन्ने रहर जाग्यो । काठमाण्डौंका क्यामेरा पसलहरुतिर पनि जान्थें, भाउ सोध्थें अनि फर्कन्थें।
एउटा सरकारी संस्थानको स्थायी जागिर र विश्वविद्यालयको पढाई भएपनि दुबैमा दिल नबसेपछि पत्रकारितामा होमिए। सन् १९९२ मा नेपाल प्रेस इन्स्टिच्युट मा पत्रकारिता पढ्दा मलाई गोरखापत्रका फोटो पत्रकार गोपाल चित्रकारले हप्ता दिन सिकाएको फोटो जर्नालिज्मले जति अरु कुनै बिषयले तानेन । यसै बेला हो मैले शटर स्पीड, एप्रेचर, एयसए (हाल आइएसओ), फोकल लेन्थ जस्ता शब्द पहिलो पटक सुनेको । गोपाल चित्रकार गोरखापत्रको एउटा राम्रो फोटोग्राफर र प्रभाशाली शिक्षक हुन। मैले मणि लामा र विकास रौनियारबाट प्रभावित हुने र गोपाल चित्रकार बाट सिक्ने मौका पाए।
मलाई फोटो पत्रकारितामा मौका दिने श्रेय मातृभूमि साप्ताहिकका कार्यकारी सम्पादक ज्योति वैद्यलाई जान्छ। सन् १९९३ तिर रिपोर्टिंग मा जाँदा होस् कि ल्याम्ह पुच युवा क्लबले संचालन गरेको राष्ट्रिय स्तरका कार्यक्रममा उहाले मलाई कहिले उद्घोषण त कहिले फोटोग्राफीको मौका दिनुहुन्थ्यो।
मैले १९९५ देखि १९९९ सम्म कामना प्रकाशनको नेपाल समाचारपत्र दैनिकमा काम गरे । रिपोर्टिंग र डेस्क दुवै तर्फ़ काम गरियो। यो बेलासम्ममा फोटो पत्रकारिताको आधारभूत ज्ञान र अभ्यास हासिल गरिएको थियो। आफैले फोटो नखिचेपनि छापिने समाचारलाई र लेखलाई चाहिने फोटोको आइडिया, कम्पोजिसन, र श्रोत सुत्रबारेमा फोटोग्राफरलाई सुझाब दिन सक्ने सामर्थ्यको विकास भएको थियो।
क्यामरा भने अझै किन्ने अवस्था आएको थिएन। सन् १९९९ मा अमेरिका आएपछि अरु १० बर्ष बिना क्यामेरा बित्यो ।
२००९ बिना योजना मलमा घुम्दै जाँदा नाइकन ब्रान्डको को डी ६० मोडेलको सामान्य क्यामेरा ५५० डलरमा किनेपछि त जिन्दगीले नयां मोड लियो ।
(तपाइ पनि आफ्ना सफलताका कथा सुनाउन सक्नुहुन्छ । आफ्नो कथा हाम्रो इमेलमा पठाउनु होला )