रमाइलो जीवनगाथा : टिकटक रस, समाजसेवा र मातृभूमिको माया

कतिपय मानिसलाई एउटै क्षेत्रमा सफलता पाउन नै ठुलो संघर्ष हुन्छ तर कोही कोही मानिस देख्दा यस्तो लाग्छ जहाँ हात हाल्यो त्यही सफलता मिलिहाल्छ। भित्रभित्रै धेरै नै मेहेनत गरेको पनि हुनसक्छ तर डा. सन्तोष सापकोटालाई देख्दा यस्तो लाग्छ, उनी जेमा पनि अब्बल छन् । आफुले अध्ययन गरेको बिधा, समाजसेवा वा सामाजिक सञ्जालमा नै किन नहोस उत्तिकै निपुर्ण रहेको भान हुन्छ। उनलाई चिनेका वा सम्पर्कमा रहेका जो कोहीलाई पनि त्यस्तै लाग्छ । पेशागत र समाजसेवामा सापकोटा एक्लै सफल भएपनि सामाजिक सञ्जाल विशेषत टिकटकमा उनको चर्चा र सफलताको आधारको रुपमा उनकी पत्नी अमिता श्रेष्ठ जोडिएकी छिन। यो जोडीको फेसबुकमा हजारौं अनुयायी छन् भने टिकटकमा लाखौं। टिकटकमा ६ मिलियन ‘लाइक्स’ कटिसक्यो र दिनहुँ दशौं लाखौंसम्म पनि मानिसहरुले यो जोडीले वनाएका बिभिन्न भिडियोहरु हेर्ने गर्छन।

डा. सापकोटा यतिवेला अमेरिकाको एरिजोना राज्यमा वस्छन् तर मन भने सदैव नेपालसंग जोडिएको छ । तपाईंहरुले सामाजिक सञ्जालमा जोडिनु भएको छ भने देख्न सक्नु हुन्छ, उनी कहिले महाविर पुनले नेतृत्व गरेको राष्ट्रिय आविश्कार केन्द्रलाई सहयोग जुटाई रहेका हुन्छन त कहिले डा. भगवान कोइरालासंग काठमाण्डौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थका लागि सहकार्यमा जुटिरहेका हुन्छन् ।
कास्कीको मादी गाउँपालिका तारकाङ मजुवामा जन्मिएका डा. सापकोटाको जीवनमा सरल मन्त्र छ। हर दिनलाई सुन्दर वनाउने, हरेक रात ग्लानी रहित निदाउने र आउँदै नआएको भोलिको विषयमा तनाव सकेसम्म नलिने। यहि सेरोफेरोमा नेपाल तस्विरसंग आफ्नो जीवन दर्शन र भावी योजनाहरुको वारेमा चर्चा गरेका छन् । उनको कथा यस्तो छ :

गाउँमा एक मध्यमवर्गीय परिवारमा जन्मिएको हुँ। सपना धेरै ठुला थिएनन् । मणिपाल कलेजमा पढेर चिकित्सक पनि बनियो । एनेष्थेसियामा नेपालमै एमडी गर्ने मनस्थिति मै थिएँ। जीवनले छुट्टै मोड लियो। प्रेम भयो, त्यो पनि अन्तरजातिय। उपाध्याय वाहुनको छोरो, प्रेमिका भने नेवारी। मेरा आफ्ना नातागोता कसैले पनि अन्तरजातीय विवाह गरेका छैनन, समाजसंग भिड्ने हुति नै भएन। विवाह गर्न सजिलो हुन्छ भनेर पनि अमेरिका आए । यो वारेमा हामी पति पत्नीले टिकटकमा विस्तृतमा चर्चा गरेका छौं। १६ वटा भागहरु बनाएर ती दिनहरु र जीवनका उतार चढाबलाई स्मरण गरेका छौं ।

सन् २००५ मा मेडिकल लाइसेन्स परीक्षाका लागि अमेरिका आए तर परीक्षा अपेक्षा गरेजस्तो भएन। अमिता भने २००६ मा नर्सिङका लागि आइन। शुरुका दिन जीवन संघर्षपूर्ण भयो, केही समय चीनमा गएर समेत पढाए । पछि फेरी फर्केर ओहायो युनिर्भिर्सटीमा ‘माष्टर्स इन हेल्थ एड्मिनिष्ट्रेशन’ गरें। अमिताले पनि नर्सिङ लाइसेन्स लिइन्। अहिले एरिजोना राज्यको युनिभर्सिटी अफ एरिजोनामा ‘क्लिनिकल इन्फोर्मेटिक्स फेलोसिप प्रोग्राम’ मा असिष्टेन्ट प्रोफेसरको रुपमा कार्यरत छु भने भ्यालीवाइज हेल्थ नामक संस्थामा ‘हेल्थ ईन्फर्मेशन टेक्नोलोजि’ मा कार्यरत छु । अमिता स्थानीय अस्पतालमा नर्सको रुपमा कार्यरत छिन् । दुइ छोराछोरी छन् ईभा र अभिभ।

मलाई सामाजिक काममा भने अमेरिका नेपाल मेडिकल फाउन्डेशनले ल्याएको हो । सन् २०१४ मा फाउन्डेशनको आजिवन सदस्य बनें। अर्को बर्ष त नेपालमा विनासकारी भुईंचालो आयो र त्यसपछि मेरो जीवनलाई सोच्ने प्रकृयामा नै आमुल परिवर्तन ल्यायो । भूइचालो गएको ८ घण्टा वित्दा समेत मलाई नेपालमा भएका परिवारको वारेमा कुनै सुचना प्राप्त भएको थिएन । मनमा हजार आशंकाहरु खेलिरहेका थिए सबै जसो नराम्रै। सोचें कसैले तेरा वुवाआमा भाई बुहारी सासु ससुरा सकुशल छन् भन्ने सुचना मात्रै दिए जीवनभर सकेसम्म मानवसेवा मै बिताउँछु जस्तो लागिरह्यो । जब सबै राम्रो भएको समाचार पाएँ, त्यसपछि जीवन अरुतिर डुलेको छैन। देखिरहनुभएकै छ, अधिकतम रुपमा समाजसेवामै केन्द्रित छ।

भुकम्प गएपछि अमेरिका नेपाल मेडिकल फाउन्डेशनले १.७ मिलियन डलर उठायो, उल्लेखनीय कामहरु पनि भए। पछि फाउन्डेशनको दुई कार्यकाल अध्यक्ष भएर पनि काम गरें। अझै पनि सकृय नै छु, बोर्ड र प्रोजेक्ट कमिटीमा काम गरिरहेछु। संस्थालाई एउटा विशाल पहिचान र आकार दिन महत्वपुर्ण भुमिका खेलें। संस्थाले नेपालमा करोडौंको लागतमा ३०० भन्दा बढी स्वास्थ्य प्रोजेक्हरु पनि गरिसकेको छ।
फाउन्डेशनमा रहँदा संस्थागत निर्णय लिनुपर्ने हुन्थ्यो । कतिपय ठाउँमा मन लागेर पनि सहयोग गर्न पाइरहेको थिएन । अहिले डा. प्रकाश पौडेलसंग मिलेर एउटा छुट्टै किसिमको सापटी कार्यक्रम गर्दैछु र ती रहरहरु पुरा गर्ने र सामाजिक उत्तरदायित्व पुरा गर्ने काममा लागेको छु । कोरोना महामारीको समयमा कति उदासीका कुरा मात्रै गर्ने केही रमाइला कुरा पनि गरौ, मानिसलाई सकारात्मक कुराहरु पनि सुनाउँ भनेर मैले वरिष्ठ कलाकार हरिवंश आचार्यसंग फेसवुक लाइभमा कुराकानी गरे । मैले उहांलाई तपाइको १ घण्टा समय लिन्छु जसका लागि तपाइले भनेको संस्थालाई १ सय डलर बराबरको सहयोग गर्छु भनेको थिएँ। कुराकानी उहाँले असाध्यै मन पराउनुभयो। उहाँले मदनकृष्ण श्रेष्ठ दाइलाई कार्यक्रममा बोलाउन सहजीकरण पनि गरिदिनु भयो । पछि कुराकानीमा डा. भगवान कोइराला, अनुराधा कोइराला, महाविर पुन, आनी छोइङ, राजु लामा, डा. सन्दुक रुइत, डा. गोविन्द केसीसंग पनि कुराकानी गरियो । कार्यक्रममार्फत नै अहिलेसम्म ६५ लाख रुपैयाँ जति पाहुनाहरुले सिफारिस गरेका बिभिन्न संस्थाहरुमा पठाइसकिएको छ । यो कार्यक्रमका लागि ४४ जना सदस्यहरु हुनुहुन्छ र हरेकले महिनामा २५ डलर दिने गर्नुहुन्छ। नेपाल र अस्ट्रेलियामा पनि सदस्य हुनुहुन्छ।

टिकटकपछि मेरो सवैभन्दा वढी व्यवस्तता राष्ट्रिय आविश्कार केन्द्रका लागि विभिन्न संस्थाहरुसंग समन्नवय गर्ने, आर्थिक सहयोग जुटाउने, सामान खरिद गर्ने, खरिद गरेको सामानलाई नेपालसम्म पठाउने जस्ता काम संयोजन गर्नमा नै वित्ने गर्छ । कोरोना महामारी उच्च हुँदा धेरै नै ब्यस्त भइयो। हालसालै राष्ट्रिय आविष्कार केन्द्रबाट नेपालमा पनि इलेक्ट्रोनिक हेल्थ रेकर्डको काम सुरु गर्न लागिएको छ । मेरो यही विषयमा विज्ञता भएकोले पनि थप उत्तरदायित्व र उत्साहका साथ काम गरिरहेछु।
डा. कोइरालाको परियोजनामा अमेरिका नेपाल मेडिकल फाउन्डेशनले १ करोड रुपैयाँ सम्मको सहयोग गर्ने लक्ष्य लिएको छ र अहिलेलाई १० हजार डलर स्वीकृत पनि भइसकेको छ । यस्तै किसिमका सहजीकरण गराउन नै मलाई उत्तर अमेरिकाको संयोजकको जिम्मा पनि दिनुभएको छ। नेपालमा रिसर्च क्षेत्रमा केहि योगदान दिनका लागि निरी (एनआइआरआइ) भन्ने संस्थाको एक संस्थापक सदस्य भएर पनि काम गरिरहेछु।

अमेरिकामा वसेर मातृभूमिका लागि जे जति गर्न सकेको छु, गरिरहेको छु । भविश्यमा भने नेपाल फर्कने सोच छ । नेपालको जनस्तरमा परिवर्तन नल्याइ देशमा परिवर्तन आउंदैन भन्ने मेरो वुझाइ रहेको छ । नेपाल फर्किएर यो कसरी गर्ने भन्ने कार्ययोजनाको खाका पनि तयार गरेको छु । सबल सुशासन, पूर्ण पारदर्शिता र जनमुखी प्रशासन नै मेरो कार्ययोजनाका मुख्य आधारस्तम्भ हुन् । यी तीनवटा आधारस्तम्भलाई पुरा गर्न अभियान सञ्चालन गरिने छ । हामी शिक्षा दियो भने सवै परिवर्तन हुन्छ भन्ने सोच राख्छौ तर हुंदो रहेनछ । एउटा चिकित्सकलाई चुरोट खायो भने स्वास्थलाई हानी पुग्छ भन्ने कुरा आममानिसलाई भन्दा धेरै नै थाहा छ तर पनि खान्छ। एउटा ट्राफिकलाई घुष खायो भने कारवाही हुन्छ, खानु राम्रो हैन भन्ने थाहा छ तर पनि खान्छ । शिक्षाले मात्र ब्यवहारमा परिवर्तन ल्याउन नसकिने रहेछ, चेतना पनि चाहिने रहेछ । यस्तो चेतना जसले मानिसको आचरणमा परिवर्तन ल्याइदिओस् । मैले सोचेको पनि देशका हरेक नागरिकले हामीले असल मानिस छानेनौ भने यसले हाम्रो र सन्ततिको भविश्य समाप्त पार्छ भन्ने वुझ्न सकुन । मैले सोचेको कार्ययोजना भनेको मतदातालाई शिक्षित गर्नुका साथै सचेत गराएर आचरणमा परिवर्तन ल्याउनु र त्यही अभियानबाट असल नेतृत्व उत्पादन गर्नु नै हो ।
समाजका लागि काम गर्ने बानी नै बनिसकेको हो कि जस्तो लाग्छ, अरु काममा थकान हुन्छ तर यसमा रमाईलो लाग्छ। टिकटकवाट महिने पिच्छे थोरै भएनि पैसा आउँछ। त्यो पनि अधिकांश सामाजिक काम मै सहयोग गर्छौं। हामी यत्तिकै लहडमा टिकटकमा आएका थियौं तर धेरैले मन पराइदिनुभयो र राम्रो बनाउने एक थप जिम्मेवारी महशुस हुन्छ। सुरुसुरुमा त दुबैतिरका बा आमाले के गरेको त्यस्तो भनेर प्रश्न गर्नुहुन्थ्यो तर आजकल वहाँहरु पनि अभ्यस्त हुनुभयो । हाम्रो टिकटक हेर्ने कतिपयले वहाँहरुसंग गरेको कुरा खुशी हुँदै सुनाउनु हुन्छ। केही दिन नयाँ टिकटक देख्नुभएन भने खोई टिकटक आएन विसन्चो पो भएछ कि भनेर फोन गर्नुहुन्छ।
अमेरिकाको व्यस्त जीवनमा कसरी समय निकालेर टिकटक वनाउनु हुन्छ भन्ने धेरैको सवाल हुने गर्छ । हामी टेलिभिजनमा खास समय विताउँदैनौ। फुर्सदमा जहिलेपनि संगै हुन्छौं । नयाँ नयाँ टिकटकका विषयमा कुराकानी गरिरहेका हुन्छौ । म धेरैजसो घरवाट काम गर्छु। बिहानको नास्ता, दिनको खाना वा ब्रेकमा पनि छलफल गर्छौ । नचाहिने बहश गरेर समय खेरपनि फाल्दैनौं। हाम्रो टिकटकवाट केही सकारात्मक सन्देश दिन सके हुन्थ्यो भन्ने लाग्छ। सन्देश नै नभएपनि कमसेकम मानिसहरुको नकारात्मक सोच केहीवेरलाई भएपनि हटाउन सकिए हुन्थ्यो भन्ने लाग्छ ।
देश वा समाज कसैले आएर बनाउँदैन। हामीले नगरे कसले गर्ने भन्ने मनमा सधैं आउँछ। जीवनमा के गरिस् भनेर कसैले प्रश्न गरिहाल्यो भने खाली उत्तरको सट्टा केहि भन्न सक्ने स्थिति निर्माणमा नै लागि रहेको छु।