सहकारी आन्दोलनमा चित्राले कोरेको चित्र

चित्राकुमारी थाम्सुहाङले जिन्दगीको चित्र आफैं कोरिन् । पूर्वी पहाड पांचथरमा जन्मिएका चित्राका सामुन्नेमा चुनौतिका पहाडहरु उनका आंखा अगाडि परिरहने कुम्भकर्ण हिमालभन्दा अग्ला थिए । जसोतसो प्राथमिक विद्यालय सकेकी चित्रालाई ४ कक्षादेखि घरभन्दा केही टाढाको स्कुलमा पुग्नुपर्थ्यो । घरमा आमासंग वोल्दावोल्दै धेरैजसो नेपाली भाषामा वानी परेकी चित्रालाई नयां स्कुलमा मातृ लिम्वु भाषा वोल्नेहरुले यति वुलिङ गरे कि झण्डै उनले स्कुल नै छाडिन् ।

जीन्दगी निकै अगाडि जानु रहेछ, उनका वुवाले फेरी विद्यालय पुर्याए । स्कुल सकेर कलेजका लागि गन्तव्य थियो, इलाम । उनको घरवाट पैदल दुइदिनको वाटो । उनको हिंडाइको गति यस्तो थियो, दुइदिनको वाटो एक दिनमापार गर्थिन । स्नातक तह दोश्रो वर्ष पढ्दा पढ्दै विवाहभयो । घर थियो ताप्लेजुङ । माइती पांचथर र घर ताप्लेजुङको वीचमा पर्थ्यो, तेह्रथुम जहां उनको मामलीघर थियो ।

पाँंचथर, ताप्लेजुङ र तेह्रथुमसंग मात्र जोडिएकी चित्रा विवाहपछि काठमाडौसंग जोडिइन । इन्जिनियर पतिसंगै काठमाडौं आइन ।

‘केहीवर्ष त पढाइ र कामहरु अगाडि वढाउन सकिन तर जीन्दगी यतिमा नै रोक्न मन थिएन’, केही दिनअघि जुममा जोडिएकी चित्राले आफ्नो कथा सुनाउंदै भनिन्, ‘जव घरवाट निस्किए, आफुले चाहेको करियर निर्माण गरेर नै छाडे।’

जुममा जोडिंदा उनको पृष्ठभूमिमा दर्जनौ सम्मानपत्रहरु देखिइरहेका थिए, जसले उनको मेहनतलाई झल्काउंथे ।

चित्रा यतिवेला राष्ट्रिय सहकारी महासंघको महाप्रवन्धक छिन् । यो पदमा पुग्न उनले धेरै मेहनत गरेकी छिन्, पसिना वगाएकी छिन्, सहकारी आन्दोलनमा आफुलाई होमेकी छिन् र उनका सपनाहरु समेत अव सहकारीसंग नै जोडिन थालेका छन् । चित्राले महासंघमा प्रवेश गर्दा तलव नै खुवाउन हम्मेहम्मे पर्ने अवस्था थियो तर अहिले महासंघको अवस्थामा धेरै परिवर्तन आएको छ ।

उनको जीन्दगीको टर्निङ प्वाइन्ट नेपालमा सहकारी आन्दोलनको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघको लेखापालमा प्रवेश हो । लेखाप्रणालीको विषयमा कुनै ठोस अनुभव नभए पनि उनले आंट गरेर जोडिइन् सहकारी आन्दोलनसंग ।

‘लेखापालको काम त मैले एक महिनामा सिके र वांकी समय राष्ट्रिय सहकारी महासंघलाई कसरी सशक्त र वलियो वनाउने भन्ने विषयमा आफुलाई केन्द्रित गरे’, उनले पुराना दिनहरुलाई सम्झिइन् ।

चित्रासंग केही गरौ भन्ने हुटहुटी थियो तर मनले चाहे जतिभने गर्न सके जस्तो लाग्दैन रे । उनलाई एकातिर महासंघको दायित्व थियो भने अर्कोतिर घरव्यवहार सम्हाल्नुपर्ने ।

‘म अवेरसम्म चल्ने पार्टीहरुमा विताउन सक्दिनथे, जहां निकै महत्वपूर्ण छलफल र निर्णयहरु हुन्थे’, चित्राले आफ्ना अप्ठेरोहरुलाई सुनाइन्, ‘पार्टी र जमघटमा जान नसक्ने अवस्थाले पनि महिलाहरुलाई निकै अवसरवाट वञ्चित गरिने रहेछ।’

यो पीडा उनले आफैं भोगेकी थिइन जव उनी कामु महाप्रवन्धक भएर काम चलाइरहेकी थिइन् तर महासंघको वोर्डले उनलाई वढुवा गर्न निकै समय लगाएको थियो ।

‘मसंग क्षमताथियो, मैले महासंघलाई हांक्न सक्छु भन्ने वोर्डमा सवैलाई थाहा थियो तथापि लैैंगिक विभेदले गर्दा मैले निकै समय सोही वढुवाका लागि कुर्नुपर्यो’, चित्राले आफ्नो कथा सुनाएपनि यो समग्र महिलाहरुको कथा थियो ।

राष्ट्रिय सहकारी महासंघ सन् १९९७ मा अन्तराष्ट्रिय सहकारी महासंघसंग जोडियो, जसले महासंघ र यससंग जोडिएका कर्मचारीको जीवनमा पनि परिवर्तन ल्यायो । चित्रा स्वयम्ले पनि विदेशमा तालिमहरु लिने अवसर प्राप्त गरिन् जुन तालिमले उनको सोच्ने प्रकृयामा पनि परिवर्तन ल्याइदियो । तालिमका क्रममा उनी भारत, जापान, इण्डोनेशिया जस्ता मुलुकहरुमा पुगिन ।

महासंघको महाप्रवन्धक चित्राका लागि अवसर र चुनौति दुवै हो । अहिले पनि थुप्रै संस्थाहरुको प्लानिङ र वजेटिङमा महिलाहरुलाई सहभागी गराइदैन । चित्रासंग अव दुइ प्रकारका मार्गचित्र छन्, पहिलो सहकारी आन्दोलनलाई कसरी सशक्त वनाउने र अर्को सहकारीसंग जोडिएका महिलाहरुलाई कसरी सक्षम वनाउने । महिलाले नेतृत्व गरेका थुप्रै संघहरुवाट अहिले पनि राष्ट्रिय सहकारी महासंघको निर्वाचनमा पुरुष प्रतिनिधि आएको उनलाई चित्त वुझेको छैन ।

‘नेतृत्व चयनमा महिलाहरु नै सक्षम छन्, छैनन् भने वनाउनुपर्छ’, उनी दृढ छिन् । महासंघले अहिले सहकारीका लागि लैंगिक मार्गदर्शन निर्माण गरेकोे वताउंदा उनको अनुहारमा खुसी झल्किएको थियो । उनको मुल ध्येय भनेको प्लानिङ र वजेटिङमा महिला सहभागिता, अध्यक्ष वा सचिव जस्ता महत्वपूर्ण पदमा महिला सहभागिता, महासंघको नेतृत्व चयनका वेला महिला सहभागिता जस्ता कुरामा पनि केन्द्रित छ ।

आफ्नो पालामा महासंघको संरचनागत सुधारमा ध्यान दिएकी चित्राले अहिले महासंघका क्रियाकलापहरुमा वृद्धि गर्नुका साथै परिणाममुखी कामहरुमा जोड दिइरहेकी छिन् ।

‘अझै पनि महासंघले आफ्नो क्रियाकलाप संचालन गर्न अरूको मुख ताक्नुपर्ने अवस्था छ, म सेवानिवृत्त हुनु अगाडि नै महासंघलाई आत्मनिर्भर वनाउन चाहन्छु’, उनले आफ्नो योजना पनि सुनाइन् ।

सहकारी अभियान नेपालमा सांच्चिनै अगाडि वढेको प्रष्ट हुन्छ । देशमा ७५३ स्थानीय तहमध्येमा ७४९ तहमा सहकारी अभियान पुगेको छ । मनाङको एउटा र डोल्पाको ३ वटा स्थानीय तहमा सहकारी अभियान अझै पुगेको छैन । सहकारी अभियानसंग ७३ लाख भन्दा वढी नेपाली जोडिएका छन् ।

‘सहकारी अभियानले केवल वित्तिय साक्षरतामात्रै दिएको छैन, यसले नेतृत्व लिन पनि महिलालाई सिकाएको छ’, चित्राले समग्र देशको चित्रण गर्दै भनिन, ‘अहिले स्थानीय तहमा हेर्नुभयो भने धेरै जनप्रतिनिधिहरु सहकारी आन्दोलनसंग जोडिएका छन् ।’

‘अवको हाम्रो उदेश्य भनेको उत्पादनमा प्रोत्साहन, वजारको व्यवस्थापन र नेतृत्वमा हस्तक्षेप नै हो’, उनले महासंघलाई अगाडि वढाउने आफ्नो कार्यनीति सुनाइन् ।

प्रतिक्रिया दिनुहोस्