स्कुलप्रति बालबालिकाको नकारात्मक मानसिकता

विद्यालय भनेको ज्ञानको ऊर्जा र हौसला प्राप्त गर्ने ठाउँ । अझ बालबालिका आफैँ उत्प्रेरित भएर सिक्न सक्ने वातावरण भएको स्थान । तर, अचेल विद्यालय अझ ‘स्कुल’ भन्नेबित्तिकै बालबालिकालाई अभिभावकले निश्चित समयमा जबर्जस्ती पु¥याइदिने, दिनभरि कोठामा थुनेर पढाएर धेरै गृहकार्य दिएर पठाउने ठाउँ भन्ने नै धेरैले बुझ्छन् । अनि स्कुलकै कारणले बालबालिकाले घर पुग्नासाथ त्यही गृहकार्य लेख्न बस्नुपर्ने, लेखेन भने अभिभावकले कुटीकुटी लेख्न लगाउने, लेखेर भ्याएन भने भोलिपल्ट स्कुल पुगेपछि एक्लै राखेर शिक्षकले फेरि त्यसै गृहकार्य गरिसक्न बाध्य पार्ने अनि मात्र अरु विद्यार्थीसँग राख्ने पुरानो चलन अझै धेरैजसो स्कुलमा देख्न पाइन्छ । यसले गर्दा धेरैजसो बालबालिकाले स्कुललाई नकारात्मक रुपमा लिन्छन् । उनीहरू खुशी भएर होइन कि बाध्य भएर जान्छन् मानौँ अभिभावकको खुशीका लागि पढिदिन्छन् ।

समयले धेरै फड्को मारी सक्दा पनि स्कुलमा पढाउने शैलीमा भने परिवर्तन आउन सकेन । त्यहाँभित्र पसेर हेर्दा शिक्षकहरू किताब बोकेर हुबहु पढाइरहेका हुन्छन् अथवा बोर्डमा लेखेर विद्यार्थीलाई परम्परागत ढंगले जस्ताको तस्तै सार्न वा घोक्न लगाइरहेका हुन्छन् । किताबमा भएको जस्ताको तस्तै लेख्दा वा घोक्दा बालबालिकामा कुनै विकाश हुन पाउँदैन । बरु केही कुरा पढाएर अर्का त्यस्तै सोचेर लेख भन्ने वा कुनै प्रश्न दिएर यसको उत्तर के हुन्छ सोच भन्ने खालका सिर्जनात्मक पढाई गर्ने हो भने त्यसले बालबालिकालाई केही फाइदा पु¥याउन सक्छ । के र कसरी पढाउने स्कुलमा बालमनोबिज्ञानलाई ख्याल नगरी साथै तालिम र ज्ञानको अभावमा गलत तरिका प्रयोग भइरहेको छ स्कुलहरूमा ।

बालमनोवैज्ञानिकहरूका भनाइलाई अध्ययनअनुसार बालबालिकाको दुईदेखि दश बर्ष बीचको समय बाँकि जीवनका लागि जग बसाल्ने बेला हो । यसो हो भने हामीले बालबालिकाको जग निर्धारण गर्न के सिकाउनु पर्ला त ? जग बसाल्नु भनेको बालबालिकामा भावनात्मक विकास, शारीरिक विकास, मानसिक विकास, नैतिक विकास गर्नुपर्ने हो । विकासहरू सही समयमा हुन पाएन भने उनीहरू जीवनमा सच्चा मानव बन्न गाह्रो हुन्छ । उदाहरणका लागि बालबालिकामा नैतिक विकास भएको छैन भने उनीहरूमा अरुप्रति इमान्दार हुनुपर्छ भन्ने भावनाको विकास हुँदैन र एक सभ्य समाजका लागि सेवा पु¥याउने मानव विकासमा कमी हुन जान्छ ।

परम्परागत शैलीको पढाइले एकातिर बालबालिकालाई स्कुल प्रति हतोत्साहित पार्दछ भने अर्कातिर त्यस्ता स्कुलले बालबिकासमा कत्ति पनि सघाउ पुर्याउँदैन । त्यकारण आजको अवस्थामा आएर पनि हामी कसले कति नम्बर ल्यायो ? कति प्रतिशत ल्यायो ? भन्दै नम्बरको पछाडि लागिरहन्छौं । यस्तो परम्परागत पढाइले शिक्षामा प्रगति हुन सक्दैन । तसर्थ, पढाउने शैली मात्र भिन्न भएर पुग्दैन, पढाइको मूल्याङ्कन गर्ने तरिकामा समेत परिवर्तन आउनु पर्छ । जस्तै, बालबालिकाको स्वभाव कस्तो छ रु साथीसँग घुलमिल भएर बस्न सक्छ कि सक्दैन, नयाँ वातावरणले उसलाई कति सहज वा असहज बनाएको छ ? उसको आत्मबल कस्तो छ, आफ्नो कामप्रति कति जिम्मेवार छ, साथीहरूसँग समूहमा कुनै काम गर्दा आफ्नो पालो नआउन्जेल धैर्य गर्न सक्छ कि सक्दैन भन्ने जस्ता कुराका आधारमा उनीहरूको मूल्याङ्कन गरिनुपर्दछ ।

एउटा आदर्श विद्यालय भनेको त्यो हो, जसको वातावरणमा बालबालिका रमाउन सक्नुपर्छ । उनीहरू आफूलाई लागेका कुनै कुरा निर्धक्क बोल्न सक्ने वातावरण हुनु पर्दछ । त्यहाँ बालमनोविज्ञान अनुरूप पर्याप्त शैक्षिक सामग्रीहरू हुनु पर्दछ । तब मात्र बाल विकास सम्भव छ । यदि बालबालिका स्कुलमा रमाउन सक्दैनन्, स्कुल जानेबेलामा अँध्यारो मुख लगाउँछन्, रुन्छन्, नजानका लागि बहाना गर्छन् भने त्यसको दोषी बालबालिका होइनन्, शिक्षक वा स्कुल हुन् । विद्यालयमा बालबालिका मैत्री बातावरण बनाउने काम विद्यालय सञ्चालकहरूको हो, त्यहाँ कार्यरत शिक्षकहरूको हो, स–साना नानीहरूको होइन ।

मूल कुरा त पाठ्यक्रम बनाउने मानिसहरूले नै बालमनोविज्ञान पढेको र राम्ररी बुझेको हुनुपर्छ । यसरी बनाइएको पाठ्यक्रमलाई शिक्षकहरूलाई राम्ररी बुझाउनुपर्दछ । त्यसका लागि लामो छोटो अवधिको तालिमहरू दिन सकिन्छ । त्यसपछि हरेक गतिविधिका लागि शिक्षकहरूले शैक्षिक सामग्री र कक्षागत गतिविधिहरू तयार पार्छन् । कुन विषयवस्तु कसरी सिकाउने भनी योजना बनाउँछन् । यसरी सरोकारवाला सबै पक्षले पर्याप्त गृहकार्य गर्ने हो भने बनाउने हो शिक्षण प्रक्रियालाई बालबालिका अनुकूल र प्रभावकारी बनाउन सकिन्छ । उनीहरूलाई सबै खाले ज्ञान स्कुलले दिन आवश्यक छ । यसरी हरेक विद्यार्थीको जीवन कस्तो बन्नु पर्दछ भन्ने कुराका लागि स्कुल र अभिभावक दुवै सचेत रहनु जरुरी छ

प्रतिक्रिया दिनुहोस्