नेपालगञ्जमा रेडपाण्डाको छाला र भालुको पित्तसहित ३ जना पक्राउ

नेपालगञ्ज । बाँकेमा रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसबाट तीन जनालाई शनिबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

संरक्षित वन्यन्तुका अंगको कारोबार भइरहेको छ भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको थियो । सोही टोलीले राति पौने ९ बजे गेष्ट हाउसको कोठा नम्बर १०बाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले दाङ घोराही उपमहानगरपालिका वडा नम्बर ४ का ४९ वर्षीय भक्तबहादुर पुन, ४१ वर्षीय केशव पुन र शान्तिनगर गाउँपालिका वडा १ का २९ वर्षीय रोबिन बुढालाई पक्राउ गरेको हो ।

उनीहरूको कोठामा राखिएको कालो झोलाबाट एउटा रेडपाण्डाको छाला फेला परेको थियो। त्यस्तै सिरानी मुनीबाट चार वटा भालुको पित्त समेत फेला पारेको हो । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्