फेसबुकले ३ महिनामै कमायो ३४ खर्ब
काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकले पछिल्लो ३ महिनामा मात्रै झण्डै साढे ३४ खर्ब रुपैयाँ बराबरको आम्दानी गरेको छ ।
अप्रिल देखि जून महिनासम्मको त्रैमासिकमा फेसबुकले कूल २९ अर्ब १० करोड अमेरिकी डलर आम्दानी गरेको छ । यो आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ५६ प्रतिशतले बढि हो । कोभिड १९ महामारीका कारण भौतिक व्यवसायहरु तहसनहस भैरहेको बेला अनलाइन विज्ञापनमा भएको उच्च वृद्धिले फेसबुकको आम्दानी बढाइदिएको हो ।
त्यस्तै, यो त्रैमासिकमा फेसबुकले खूद मुनाफा गत वर्षको भन्दा दोब्बरले वृद्धि गर्न सफल भएको छ । यस अवधिमा फेसबुकले १० अर्ब ४० करोड मुनाफा गरेको छ । विज्ञहरुले यस अवधिमा फेसबुकको मुनाफा अधिकतम ८ अर्ब ७० करोड डलर हुने प्रक्षेपण गरेका थिए ।