नेपाल र रावललाई ६ महिना निश्कासन गर्नुपर्छ


पार्टी अध्यक्ष र प्रधानमन्त्रीसहित हामी एक दर्जनमाथि कारबाहीको घोषणा गर्ने, समर्थनमा थपडी बजाउने र पार्टी कब्जा गर्ने नियतमा समवेत् स्वरमा स्वर मिलाउन तंछाड मछाड गर्ने भ्रममा बाँच्न अभिशप्त दुखी आत्माहरूलाई पो आज पार्टी एकता चाहिएको रहेछ । प्रचण्ड र माधव नेपालका इमान्दार नोकर बनेर पुस ५ गते यता फागुन २३ गतेसम्म तिनीहरूले बास्तवमा केचाहिँ गर्न बाँकी ?

कोही प्रदर्शनी मार्गमा चिच्याए, केपी शर्मा ओलीलाई बालुवाटारबाट ननिकालेसम्म विश्राम लिन्नौं ।

कोही कार्की बैक्वेटमा उफ्रिए, केपी शर्मा ओलीलाई साधारण सदस्यबाट हटायौं ।

माझण्ड गुटको मलामी बनेका जिउँदा लाशहरू कतिले पेरिसडाँडाबाट कथित निर्णय गरेको ऐलान नै गरे, ७ जनालाई पार्टीबाट नै हटायौं ।

विचराहरू, तिनले के के गरेका थिए ?

१.प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष, संसदीय दलको नेता, पार्टी सदस्य र साधारण सदस्यबाट एक पटक मात्रै होइन, चार पटक निस्काशन गरे ।

२. महासचिव विष्णुप्रसाद पौडेललाई दुई पटक निस्काशनको घोषणा गरे ।

३. मुख्यमन्त्री शंकर पोखरेललाई लुम्बिनी प्रदेश इन्चार्जबाट एकपटक निस्कासन गरे ।

४. मुख्मन्त्री पृथ्वीसुब्बा गुरूङलाई गण्डकी प्रदेश इन्चार्जबाट एक पटक निस्काशन गरे ।

५. सुवासचन्द्र नेम्वाङलाई संसदीय दलको उपनेताबाट एकपटक निस्काशन गरे ।

६. विशाल भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकबाट एकपटक निस्काशन गरे ।

७. शान्ता चौधरीलाई संसदीय दलको सचेतकबाट एकपटक निस्काशन गरे

८. प्रभु साहलाईलाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाको लागि निलम्बन गरे ।

९. कर्णबहादुर थापालाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाको लागि निलम्बन गरे ।

१०. गोकुल बाँस्कोटालाई केन्द्रीय कमिटी सदस्यबाट निलम्बनको प्रस्ताव स्थायी कमिटीद्वारा पारित गरी कथित केन्द्रीय कमिटीमा प्रस्तुत गरे, तर उहाँ बुबाको किरियामा रहनुभएकाले विरोध भएर केन्द्रीय कमिटीबाट फिर्ता लिए ।

११. सूर्य थापालाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाको लागि निलम्बन गरे ।

१२. महेश बस्नेतलाई केन्द्रीय कमिटी सदस्यबाट छ महिनाको लागि निलम्बन गरे ।

उल्लिखित कथित कारबाही पार्टी कब्जा गर्न गरिएको थियो भन्ने स्पष्ट नै छ। समयले अब त्यस्तो निर्णय गर्नेहरू सायद जनकारबाहीमा पर्ने निश्चित भएको छ । तैपनि तिनमा कुनै रियलाइजेसन छैन । अझ उल्टै पार्टी एकताको रोइलो पो तिनकै पो छ । खासमा पार्टी एकता भत्काउने र भाँड्ने को थियो ? ऐनामा अनुहार हेर्नू पर्दैन ?

अनि, निशर्त नेकपा (एमाले), सूर्य चिन्ह, र केन्द्रीय कमिटीले फागुन २८ गते र त्यसयता गरेका निर्णयहरू तथा केपी शर्मा ओलीको मियोमा आबद्ध भएर अघि बढ्न तयार भई आए पो स्वागत छ, अन्यथा किन र्याइ र्याइ ?

कमसेकम माधवकुमार नेपाल र भीमबहादुर रावल, पिएचडीलाई छ छ महिना पार्टी केन्द्रीय कमिटीको सदस्यबाट निलम्बन गरी देशव्यापी महान शुद्धीकरण अभियान अघि बढाउनुको कुनै अर्को विकल्प छैन । अनि बल्ल पार्टी अनुशासित, सबल र पार्टीजस्तो हुन्छ ।

नत्र प्रचण्डसँगको अघोषित कार्यगत एकता, हरेक दिनजस्तो भेटघाट र साँठगाँठ किन चलिरहेको छ ?

(प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाको फेसवुकवाट)

प्रतिक्रिया दिनुहोस्