वैशाखमा मात्रै थपिए डेढ लाखभन्दा बढी कोरोना संक्रमित

काठमाडौं । वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । वैशाख १ गतेसम्म कोरोना संक्रमितको सङ्ख्या तीन लाख सात हजार ९२५ थियो । सो सङ्ख्या बढेर शुक्रबारसम्म चार लाख ३९ हजार ६५८ पुगेको छ ।

एक महिनाको अवधिमा मात्रै एक लाख ५८ हजार ७१ कोरोना संक्रमित थपिएका छन् । वैशाख १ गते एकैदिन कोरोनाबाट ६०३ जना संक्रमित भएकामा शुक्रबार एकैदिन संक्रमितको सङ्ख्या आठ हजार ५२० पुगेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या चार लाख ३९ हजार ६५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार पछिल्लो २४ घण्टामा २० हजार ९४८ जनाको पिसिआर परीक्षण तथा ५३० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

वैशाख १ गतेसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५२६ जना थियो भने हिजो सो सङ्ख्या बढेर २७ लाख ३३ हजार ५१० पुगेको छ । वैशाखमा मात्रै चार लाख ९६ हजार ९८४ जनाको पिसिआर परीक्षण गरिएको छ । वैशाख महिनामा कोरोनाबाट निको हुनेको सङ्ख्या ४९ हजार ४७ रहेको छ । कोरोना भाइरसबाट शुक्रबारसम्म मुक्त हुनेको सङ्ख्या तीन लाख २७ हजार ६५३ पुगेको छ । उक्त सङ्ख्या वैशाख १ गते दुई लाख ७८ हजार ५०६ रहेको थियो । पछिल्लो २४ घण्टामा देशभर ६ हजार १३५ संक्रमित निको भएर घर फर्किएका छन् ।

सक्रिय संक्रमितको सङ्ख्या देशभर ह्वात्तै बढेको छ । वैशाख १ गते सक्रिय संक्रमित चार हजार ५६ जना रहेकामा हाल उक्त सङ्ख्या बढेर एक लाख सात हजार ३३६ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर एक हजार ७०५ संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । एक हजार ३३४ संक्रमितको आइसियुमा तथा ३७१ संक्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।

सबैभन्दा बढी वाग्मती प्रदेशमा ५४२ संक्रमित आइसियुमा तथा २२० संक्रमित भेन्टिलेटरमा छन् । काठमाडौं उपत्यकामा मात्रै १८५ संक्रमितको आइसियुमा तथा १०५ संक्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।

एक हजार ६०८ जनाले ज्यान गुमाए

वैशाखमा मात्रै कोरोनाबाट एक हजार ६०८ जनाले ज्यान गुमाएका छन् । वैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ को मृत्यु भएकामा शुक्रबार सो सङ्ख्या बढेर चार हजार ६६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट २०३ ले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । वैशाख १ गते तीन संक्रमितको मृत्यु भएको थियो । वैशाख १४ गते एकैदिन १८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्