कलाकार ‘चम्सुरी’को दुवै मिर्गौला फेल भएपछि अस्पताल भर्ना

काठमाडाैं । हास्य टेलिशृंखला ‘मेरी बास्सै’मा ‘चम्सुरी’ पात्र बनेर चर्चा कमाएकी कलाकार पल्पसा डंगोल तीन हप्तादेखि अस्पतालमा छिन् । उनका दुवै मिर्गौलाले काम गर्न छोडेपछि महाराजगञ्ज अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो ।

विगत तीन हप्ताअघि अस्पताल भर्ना भए पनि पल्पसाको नाजुक स्वास्थ्य अवस्थाको जानकारी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको फेसबुक पोस्ट मार्फत हिजो शनिबार सार्वजनिक भएको हो। उनले आफ्नो र पल्पसाको तस्बिर राखी दीपाश्रीले कलाकार पल्पसा डंगोल(चम्सुरी)को स्वास्थ्य सुधारको कामना गर्दै सबै मिलेर साथ दिन आग्रह गरेकी थिइन् ।

मिर्गौला समस्याका कारण नियमित डायोलोसिस गराउँदै आएकी पल्पसाले आफ्नो स्वास्थ्य अवस्था लामो समय सार्वजनिक नगरेको बुझिएको छ । ‘मेरी बास्सै’मा पल्पसासँगै ‘बल्छी धुर्बे’को चरित्र निर्वाह गरेका कलाकार मरिचमान श्रेष्ठले भने, ‘दुई तीन वर्षदेखि बिरामी भए पनि हामीले ढिलो गरी उहाँको स्वास्थ्यबारे थाहा पायौं ।’

पल्पसा र मरिचमान ‘बल्छी धुर्बे’ले १० वर्ष मेरी बास्सैमा सहकार्य गरेका छन्। उनले पल्पसाको उपचारका लागि मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको बताए ।

आइतबार बिहान महाराजगञ्ज अस्पतालमा भेट्न पुगेका उनले भने, ‘खाइलाग्दी उहाँ गलेर दुब्ली देखिनुभएको छ । तर डाक्टर, परिवारका सदस्य, कलाकार र अन्य सबैको सहयोगले मिर्गौला प्रत्यारोपण गर्न सफल हुन्छौं भन्ने विश्वास छ ।’

दुई छोरीकी आमा पल्पसालाई उनका छोरीहरुले हेरचाह गरिरहेका छन् । उनलाई टेलिभिजन तथा सिनेमा क्षेत्रका अन्य कलाकारहरुले भेटेर हौसलासमेत बढाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्