कोरोनाविरुद्धको लडाइँमा सहयोग गर्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको लडाइँमा सबै नेपाली एक भएर लाग्नुपर्ने बताएका छन् ।

नेपाल उद्योग परिसंघको १८औँ साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोनाका कारण देशको आर्थिक तथा समग्र क्षेत्र शिथिल भएकाले यसबाट माथि उठ्न सबै क्षेत्रको सहयोगको आवश्यकता रहेको बताए ।

गरिबीको रेखा मुनी रहेका नेपाली जनतालाई निःशुल्क खोप उपलब्ध गराउन देशका उद्योगी व्यवसायीले पनि सहयोग गर्नु पर्ने उनले बताए । उद्योगी व्यवसायीका साथै सबै क्षेत्रको साथ सहयोग भएमा छिट्टै कोरोनालाई परास्त गर्न सकिने उनको भनाइ छ ।

‘अहिलेको अवस्था जटिल छ । सबै नेपालीलाई नि:शुल्क खोप उपलब्ध गराउन सरकार प्रतिबद्ध छ ।’ उनले भने, ‘यो अभियानमा तपाईं उद्योगी व्यवसायीले पनि सहयोग गर्न आवश्यक छ । सबैको साथ सहयोग भए हामी कोरोनालाई चाँडै परास्त गर्न सक्छौँ ।’

देश विकासका निम्ति अर्थतन्त्र पनि बलियो हुनु पर्ने बताउँदै प्रधानमन्त्री देउवाले सरकारले महत्वका साथ काम गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्