आज श्रीकृष्ण जन्माष्टमी पर्व, राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी पर्व हर्षोल्लासका साथ मनाइँदै छ । द्वापर युगमा कंशजस्ता दुर्जनको विनाश र सज्जनको रक्षा गर्नका लागि वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ ।

आज ललितपुरकाे पाटनमा रहेकाे कृष्ण मन्दिरलगायत देशभरिका राधाकृष्ण मन्दिरहरुमा स-भक्ति पूजा आराधना भइरहेको छ ।

राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

यसै सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्ण जन्मिएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश दिँदै विश्वभर हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने गरेको स्मरण गरेकी छन् ।

राष्ट्रपतिले सन्देशमा भनेकी छन्, ‘यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्याउने अपेक्षा लिएको छु ।’

राष्ट्रपति भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्