नेपाल भारतसँग २-१ ले पराजित

काठमाडौं । एक महिनापछि हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्य राखेको नेपालले यो र यश अघिको दुबै खेल जित्न सकेन । १७ भदौमा भएको पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेलेको नेपालले आइतबार भने २–१ गोलको हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको प्लेइङ ११ मा प्रशिक्षक अल्मुताइरीले तीन खेलाडी परिर्वतन गरेका थिए ।

अघिल्लो खेलमा गोल गरेका स्ट्राइकर अञ्जन विष्टको स्थानमा मनिष डाँगीलाई स्थान दिए भने नवयुग श्रेष्ठलाई बेञ्चमा राखेर आशिष लामा आए । यस्तै मिडफिल्डमा सुमन अर्यालको स्थानमा सुजल श्रेष्ठलाई अवसर दिए ।

पहिलो हाफमा नेपालले सुधारिएको प्रदर्शन गरेको थियो । नेपाली डिफेण्डरको उत्कृष्ट प्रदर्शनका कारण भारतले उल्लेख्य आक्रमण बुन्न सकेन ।

पहिलो हाफमा नेपालले पनि गोल गर्ने केही अवसर सदुपयोग गर्न सकेन । अनुभवी स्ट्राइकरलाई बेञ्चमा राखेर आएका मनिष र आशिष गोल गर्न चुके । खेलको १४ औं मिनेटमा मनिषले पेनाल्टी एरियाभित्र वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् ।

भारतीय गोलरक्षक अमरिन्दर सिंह आफ्नो स्वाभाविक पोजिसनमा भएको बेला पनि मनिष आफैं अनियन्त्रित भए र नेपालले गोल गर्ने राम्रो अवसर गुमायो ।

पहिलो हाफ सकिन दुई मिनेटअघि नेपाली प्रशिक्षक अल्मुताइरीले आशिष र सुमन लामाको स्थानमा विशाल राई र अन्जन विष्टलाई मैदान पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्