काबुल छाड्नु जीवनको सबैभन्दा कठिन फैसला : घानी

युएई । अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ घानीले अफगानिस्तानबाट आफूले पैसा लिएर नभागेको प्रस्ट पारेका छन् । उनले काबुल छाड्ने निर्णय आफूले सुरक्षा अधिकारीहरुको सल्लाहका आधारमा लिएको पनि जनाएका छन् । काबुलमा शान्ति कायम राख्नका लागि आफूसँग अन्य कुनै विकल्प नरहेको पनि उनले प्रस्ट पारेका छन् ।

ट्वीटरमार्फत आफ्नो भनाइ राख्दै उनले भनेका छन्, ‘तालिबानले काबुल कब्जामा लिएपछि १५ अगस्टमा अचानक काबुल छाडेकोमा मैले अफगान नागरिकसमक्ष सफाइ दिनु पर्दछ । मैले महलका सुरक्षा अधिकारीहरुको सुझावका आधारमा त्यहाँबाट हिँड्ने फैसला गरेको थिएँ ।’

घानीका अनुसार आफू काबुलमा रहनुको अर्थ सडकमा ९० को दशकमा गृहयुद्धको जस्तै संघर्ष निम्त्याउनु हुन्थ्यो ।‘काबुल छाड्नु मेरो जीवनको सबैभन्दा कठिन फैसला थियो तर मलाई लाग्छ, बन्दुकहरुलाई शान्त राख्न र काबुलका ६० लाख नागरिकलाई बचाउने त्यही एक तरिका थियो,’ उनले भनेका छन्, ‘मैले अफगानिस्तानका नागरिकलाई एक लोकतान्त्रिक, समृद्ध र सम्प्रभु देश दिनका लागि आफ्नो जीवनको २० वर्ष खर्च गरेँ– मैले कहिल्यै पनि नागरिकलाई एक्लै छाड्नेबारे सोचेको थिइनँ ।’

युएईको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै गनीलाई मानवीय आधारमा शरण दिएको प्रस्ट पारेको थियो । लगत्तै घानीले एक भिडियो सन्देश जारी गर्दै आफूले एउटा ठुलो त्रासदीलाई टारेको बताएका थिए । उनीमाथि करोडौं डलर लिएर भागेको आरोप छ । गनीले भने उक्त आरोप खण्डन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्