कर्मचारी सञ्चय कोषको कुल लगानी सवा चार खर्ब

काठमाडौं । कर्मचारी सञ्चय कोषको कूल लगानी सवा चार खर्ब नाघेको छ । कर्मचारी सञ्चय कोष ६० औं वर्ष प्रवेश गरेको अवसरमा सार्वजनिक वित्तीय विवरणमा गत आर्थिक वर्ष २०७७/७८ सम्म कोषको लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको उल्लेख छ । कोषले विभिन्न आयोजना, परियोजना तथा संस्थामा ऋण तथा सेयर लगानी गर्छ ।

कोषको कूल स्रोत भने ४ खर्ब ४४ अर्ब ४७ करोड छ । जगेडा कोष तथा बचतमा ४० अर्ब १६ करोड छ । सञ्चयकर्ताको सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ भने निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड रुपैयाँ छ । दायित्व भने ४ अर्ब ६७ करोड रहेको सञ्चय कोषले जनाएको छ । सञ्चय कोषले सञ्चित रकममा ६.५० प्रतिशत ब्याज दिन्छ ।

कोषले आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट सुरु मौज्दातको आधारमा एक प्रतिशत मुनाफा प्रदान गर्ने घोषणा पनि गरेको छ । सञ्चयकर्ताले सञ्चय कोषबाट विशेष सापटी, घर सापटी, शैक्षिक ऋण, सरल कर्जा र घर मर्मत सापटी शीर्षकमा ऋण सुविधा पाउँछन् । सञ्चयकर्ताले सञ्चयकोषमा रहेको रकमको ८० प्रतिशतसम्म विशेष सापटी लिन पाउँछन् ।

यसको कर्जा अवधि सेवाकालसम्म रहन्छ । जसको ब्याजदर ७.६० प्रतिशत छ । घर निर्माण गर्न वा घर खरिदमा अधिकतम एक करोडसम्म ७.९० प्रतिशत ब्याज छ । घर मर्मतमा पनि ७.९० प्रतिशत ब्याजमा ऋण लगानी हुन्छ । ७.९० प्रतिशत ब्याजदरमा शैक्षिक ऋण लिन पाइन्छ भने ८ प्रतिशतमा सरलचक्र कर्जाको सुविधा छ ।

प्रतिक्रिया दिनुहोस्