ओलीको निसानामा सर्वोच्च अदालत र सभामुख सापकोटा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा आफुलाई मुद्धा हराउने सर्वोच्च अदालत र आफुलाई असहयोग गर्ने सभामुख अग्नीप्रसाद सापकोटालाई मुख्य निसाना वनाएका छन् ।

असोज १५ गतेदेखि १७ गतेसम्म राजधानी काठमाडौंमा हुने विधान महाधिवशेनमा प्रस्तुत गर्न अध्यक्ष ओलीले तयार गरेको प्रतिवेदनमा आफुले गरेको प्रतिनिधिसभा विघटन र आफुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेको विषयलाई सेटिङका आधारमा उल्टाएको निश्कर्ष निकाल्दै सर्वोच्च अदालतको फैसलाप्रति कडा आक्रोस व्यक्त गरिएको छ ।

अध्यक्ष ओलीले सर्वोच्च अदालतको फैसला संवैधानिक नभएर निश्चित समूहको स्वार्थ पूर्तिका लागि गरिएको राजनीतिक फैसला र संविधानको अप्रत्यक्ष संशोधन भनेका छन्।

‘सर्वोच्च अदालतले गरेको फैसलामा विभिन्न मुलुकका सैनिक शासनलाई सघाउने खालका कतिपय नजिरलाई उद्धृत गरिएको उल्लेख गर्दै ओलीले प्रतिवेदनमा संसद विघटनलाई अनुचित साबित गर्न झुठा सन्दर्भको उल्लेख गरिएको र राष्ट्रपतिको अधिकारका सन्दर्भमा गलत प्रसंगको सहारा लिइएको उल्लेख छ ।

अध्यक्ष ओलीले मुद्धाका क्रममा निवेदकले अनुकुल ठानेका न्यायाधीश राख्ने र प्रतिकुल ठानेका न्यायाधीश हटाउन पाउने विश्वमा कतै नभएको प्रकृतिको इजलास गठनको परम्परा सुरु गरिएको उल्लेख गर्दै प्रतिवेदनमा यो प्रकृतिको सेटिङले गलत र घातक अभ्यास सुरू गरेको उल्लेख गरेका छन् ।

सर्वोच्च अदालतको फैसलाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकावीचको शक्ति सन्तुलन खलबल्याएको भन्दै ओलीले प्रतिवेदनमा प्रधानमन्त्री चयन गर्ने संसद एवम् नियुक्त गर्ने राष्ट्रपतिको अधिकारलाई कुण्ठित गरेर अदालतको आदेशबाट प्रधानमन्त्री नियुक्त हुने अत्यन्तै गलत नजिर स्थापीत गरेको उल्लेख गरेका छन्।

सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुखवीचमा सांठगांठ भएर नै आफ्नो पार्टी नेकपा (एमाले)लाई विभाजन गरिएको भन्दै अध्यक्ष ओलीले आफ्नो पार्टीका २८ जना सांसदलाई वैशाख २७ गतेको वैठकमा अनुपस्थित गराएर आफ्नो पार्टीको सरकार गिराएको आरोप लगाएका छन् ।

सभामुख अग्नि सापकोटा जसरी पनि एमाले विभाजन गराइ छोड्ने योजनामा संलग्न रहेका थिए, ओलीले निश्कर्ष निकालेका छन् । एमाले विभाजन गर्ने योजना अनुरुप नै पार्टीले निश्कासन गरेका १४ जना प्रतिनिधिसभा सदस्यलाई पनि सभामुख सापकोटाले निश्कासन नगरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्