नागरिकता विधेयकमा राष्ट्रपतिको सुझाव बेवास्ता, संसदबाट हुबहु पारित
काठमाडौँ । संसदले नागरिकता सम्बन्धी विधेयक दोस्रो पटक पारित गरेको छ । सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता सम्बन्धी विधेयक संसदले हुबहु पारित गरेको हो ।

अघिल्लोपटक पारित भएको विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण नगरी पुनर्विचारका लागि संसदमा फिर्ता पठाएकी थिइन् । तर, संसदले राष्ट्रपतिले पठाएको सुझावलाई बेवास्ता गर्दै संसदको बहुमतले हुबहु नागरिकता विधेयक पारित गरेको हो ।
प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटाले विधेयकको पक्ष र विपक्षमा मतदान गराएका थिए । एमाले सांसदहरुले विपक्षमा मतदान गरे भने सत्तारुढ दलका सांसदहरु पक्षमा उभिए ।
सभामुख अग्नी सापकोटाले विधेयकको एक सय ३५ मत पक्ष र ६० मत विपक्षमा परेको भन्दै नागरिकता विधेयक बहुमतबाट पारित भएको घोषणा गरे । प्रतिनिधिसभाबाट विधेयक पारितसँगै अब राष्ट्रियसभामा पठाइने छ । राष्ट्रियसभाबाट पारित भएपश्चात प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपतिसमक्ष विधेयक पेश हुने छ ।
संवैधानिक व्यवस्थाले एक पटक मात्रै राष्ट्रपतिले विधेयक प्रमाणिकरण अघि पुर्नविचारको लागि संसदमा पेश गर्नसक्ने व्यवस्था गरेको छ ।