प्रचण्डको चुनावी दौडाहा, चितवनमा एकैदिन गरे तीन उद्घाटन

चितवन । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनमा चुनावी दौडाहामा छन् । संघीय निर्वाचनको मिति तय भएपछि आफ्नो निर्वाचन क्षेत्रको दौडाहामा आएका हुन् ।


उनले चितवनको माडी पुगेर बुधबार तीन स्थानमा उद्घाटन गरेका छन् । उनले एकैदिन दुई सडक र एक पुलको उद्घाटन गरेका हुन् । चुनावी दौडाहामा रहेका प्रचण्डले माडी नगरपालिकाको बाँदरझुलाका बासिन्दाहरुसँग समेत भेटघाट गरेका थिए ।
आफ्नो निर्वाचन क्षेत्रको भरतपुर र माडीको विभिन्न स्थानमा दुई मन्त्रीसहित प्रचण्ड चितवन आइपुगेका हुन् ।

माडी पुगेर प्रचण्डले वनकट्टा हुलाकी सडक स्तरोन्नतीको शिलान्यास गरे । त्यसपछि बरुवा रणनीतिक सडकको उद्घाटन गरेका प्रचण्डले रतनी खोला पुल उद्घाटन गरेपछि भने भाषण समेत गरेका थिए ।

भाषणका क्रममा उनले चितवनमा आफूलाई केपी ओलीले कमजोर बनाएको टिप्पणी गरे । उनले राजनीतिक स्थायित्वको सपना देखेर नेकपा बनाएपछि ओलीले आफूलाई चितवनमा असफल पार्ने रणनीति अपनाएको आरोप लगाए ।

उनले भने, ‘मेरै प्रस्तावमा केपी ओलीलाई प्रधानमन्त्री बनाइएको थियो तर, ओलीले मलाई असफल पार्ने र पटक पटक प्रतिनिधिसभा विघटन गर्ने बाहेक केही काम गरेनन् ।’

प्रतिक्रिया दिनुहोस्