ऋणमा डुवेका धुर्मुस सुन्तलीले पार लाउन् त रंगशाला ?

नेपालमा गएको विनाशकारी भूइचालो पछि दुइवटा सामुहिक वस्ती वसाएका धुर्मुस सुन्तलीको तेस्रो स्वप्नील परियोजना अन्तर्गत चितवनको रामपुरमा निर्माणाधिन गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला भने निकै कष्टकर वाटोवाट अगाडि वढिरहेको छ । दुइवटा वस्ती वनाउन सफल भएका धुर्मुस सुन्तलीले तेस्रो परियोजनाको रुपमा मिनि नेपाल वनाउने घोषणा गरेका थिए तर सो घोषणालाई स्थगन गर्दै क्रिकेट परियोजना अगाडि ल्याएका थिए ।
परियोजना सुरु गर्दा दाताहरुमा निकै उत्साह भरिएको भएपनि अहिले उत्साह घट्दै देखिएको छ । सहयोगको कवोल गर्ने दाताहरु अहिले भागी भागी हिंड्न थालेपछि धुर्मुस सुन्तलीको थाप्लोमा ऋण वढेको वढ्यै छ तर परियोजनाले पछिल्लो समयमा अपेक्षाकृत गति लिन सकेको छैन ।
धुर्मुस सुन्तलीको थाप्लोमा अहिले नै करिव ९ करोडको ऋण थपिएको छ र सहयोग कवोलेका दाताहरुले सहयोग नदिएमा वा अरु नयां दाताहरु ननिस्किएमा यो परियोजना सहजै पार लाग्ने अवस्था छैन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा वनिरहेको कारण पनि प्रधानमन्त्री केपी ओली र सरकारी पक्षवाट खासै सहयोग प्राप्त हुन सकेको छैन भने देश र विदेशमा पनि धुर्मुस सुन्तलीको पक्षमा जनमत वनाइदिने र राम्रा कामको प्रचार गरिदिने भन्दा पनि विरोध गरिदिने परम्पराले यो परियोजना थलिने हो कि भन्ने चिन्ता सर्वत्र देखिएको छ ।
धुर्मुस सुन्तलीले परियोजनालाई अगाडि वढाउन अनेक स्किमहरु अगाडि ल्याएका छन् र उनको महापुराण स्किम प्रचारमा सफल भएपनि व्यवहारमा असफल भइदिंदा मुल संकट आइलागेको हो । महापुराणमा सहभागी भएर सहयोग कवोल गर्नेहरु अहिले वेपत्ता भएका छन् जसले धुर्मुस सुन्तलीलाई निदाउन दिएको छैन । महापुराणमा भएको कवोल मात्रै पुरा गरिदिए पनि यो अभियान पुरा गर्न निकै सहयोगी हुने अपेक्षा गरिएको छ ।
धुर्मुस सुन्तलीको ऋण थपिंदै जांदा उनलाई मात्रै होइन, रंगशाला निर्माणमा विश्वास गरेर सामाग्री ढुवानी गर्ने सप्लायर्सहरुलाई समेत संकट परेको छ । एउटै सप्लायर्सको साढे तीन करोडसम्म ऋण पुगिसकेको छ तर पनि धुर्मुसले सहयोगका लागि अपिल गरिरहेका छन् ।
धुर्मुस सुन्तलीले अभियान सुरु गर्दा नै उनको कामको दुइवटा कोणवाट आलोचना सुरु भएको थियो जसले गर्दा उनलाई सारो परेको हो । पहिलो आलोचना धुर्मुसले दुइवटा वस्ती वसाउंदैमा आफुलाई राज्य ठान्न थाले र जता पनि हात हाल्न थाले भन्ने थियो भने अर्को खेल मैदान वनाउनु भन्दा विद्यालय र अस्पताल वनाउनु आवश्यक थियो भन्ने हो ।
धुर्मुसलाई एकातिर सप्लायर्सको पैसा तिर्नुपर्ने चुनौति छ भने अर्कोतर्फ काममा लगाएका मजदुरको ज्यालादारी दिनु छ । त्यो भन्दा अर्को टेन्सन छ, विभिन्न वित्तिय संस्थाहरुवाट लिएको सावां र व्याज । कोरोना महामारीमा समेत निरन्रतर काम गराएका धुर्मुस सुन्तलीले अहिले प्याराफिटमा राखिने कुर्सीमा प्रायोजन गरिदिन सवैलाई अपिल गरेका छन्, यो अपिलले कति काम अगाडि वढाउंछ हेर्न वांकी नै छ ।
एउटा सेलिव्रेटी नागरिकले राष्ट्रिय गौरवका आयोजनामा हात हालिदिनु आफैंमा गौरव गर्न लायक काम भए पनि नेपालीजनमा भएको नकारात्मक कुरालाई वढावा दिने विषयले अहिले निकै रामो परियोजना थला परिरहेको छ र यसमा सवैको साथ सहयोग आवश्यक भएको देखिएको छ ।
रंंगशाला निर्माण सुरु गरेयता ३९ करोड ३ लाख ४ सय ९९ रुपैयाँ खर्च भइसकेकोमा आम्दानी भने ३१ करोड ४७ लाख ३० हजार ९ सय ७७ रुपैयाँ मात्र छ । राष्ट्रिय गौरवका आयोजना पुरा गर्नका लागि यो कठिन अवस्थामा सरकारले होष्टेमा हैंसे गरिदिने हो भने नागरिकलाई देश विकासमा जुट्न सहयोग पुग्नेछ तर सरकारको यतापट्टी ध्यान गएको भने देखिएको छैन । सरकारको असहयोग हुने र सरकारी निकायहरु नै कवोल गरेको रकम नतिरी भाग्दै हिंड्ने अवस्था भएमा एकछिन मानिस हसाउने भाषण गरेर सम्वृद्धि पुरा होला त ?