बेलायतले नेपाललाई दिने भयो २० लाख डोज खोप


काठमाडौं । बेलायतले नेपाललाई २० लाख डोज आस्ट्राजेनेका (कोभिसिल्ड) खोप उपलब्ध गराउने भएको छ । नेपाललाई अहिले खोपको आवश्यकता परेको भन्दै बेलायतले विश्‍व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रममार्फत खाेप (कोभिसिल्ड) उपलब्ध गराउन लागेको हो ।

नेपाललाई खोप उपलब्ध गराउनेबारे त्यहाँकाे उपल्लो सदनमा बहस भएर निर्णयमा पुगेकाे हाे । यद्यपि, यो खोप कुनै कूटनीतिक प्रयास वा त्यहाँ रहेका राजदूतको पहलकदमीमा नभई बेलायतमा रहेका गोर्खा र काठमाडौंमा रहेका बेलायती राजदूत निकोल पोलिटको सक्रियतामा आउन लागेको हो । दुई दिनअघि पोलिटले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसबारेमा जानकारी दिएकी थिइन तर सरकारले बेलायतसँग खोप मागेको भन्दै खोपमा राजनीति भएको थियो ।

भारतकाे सिरम कम्पनीले काेभिसिल्ड उपलब्ध नगराएको कारण पहिलो डोज खोप लगाएकाहरूले अहिलेसम्म अर्को डोज लगाउन पाएका छैनन् । यो अवस्थामा पुरानो मित्र मुलुकको सहयोग आफैँमा अर्थपूर्ण छ ।

बेलायती संसद्को उपल्लो सदन हाउस अफ लर्ड्समा बिहीबार बहस भएपछि राजदूत पोलिटले त्यसको जानकारी प्रधानमन्त्री ओलीलाई दिएकी थिइन् । बेलायती विदेश मन्त्रालयका अधिकारीले यसअघि पनि नेपाललाई आवश्यक पर्ने सहयोगबारे लगातार छलफल गरिरहेका छन् ।

बेलायतमा रहेका नेपाली राजदूत स्वयं सक्रिय भएर आफैँले विभिन्‍न भेटघाट र प्रयास गर्नुपर्नेमा उनलाई परराष्ट्रको डेक्सबाट लगातार ताकेता गर्न परिरहेको छ । मुख्य सचिव रहँदा विधिविधान भन्दा पनि प्रधानमन्त्री रिझाउने खेलमा लागेर राजदूत भएका लोकदर्शन रेग्मीलाई परराष्ट्र मन्त्रालयले घच्घच्याउन परेकाे छ ।

‘उनी न राजनीतिक व्यक्ति न कूटनीतिक न त धुरन्धर अध्ययन गरेका व्यक्ति । उनले त्यहाँ गएर आफ्नो कुरा समेत स्पष्ट राख्‍न सक्दैनन् ।’- परराष्ट्र अधिकारीले बताए – ‘सोही कारण उनले राजदूत भएर जाँदा समेत नेपाल सरकारले दिने प्रशिक्षणसमेत छलेका थिए ।’

प्रतिक्रिया दिनुहोस्