बुधबारको चन्द्रग्रहण विशेष खालको, संसारबाटै चन्द्रमा रातो देखिने
काठमाडौं । बुधबारको रात चन्द्रग्रहण लाग्दैछ । यसपटकको चन्द्रग्रहण निकै महत्वपूर्ण र विशेष छ । किनकि, यो चन्द्रग्रहणका क्रममा विश्वका विभिन्न भागबाट रातो चन्द्रमा देखिनेछ । रातो देखिने चन्द्रमालाई सुपर ब्लड मुन भनिन्छ ।
यस विषयमा जानकारी दिँदै अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भनेको छ ‘२६ मे मा चन्द्रमाको पूरै भाग पृथ्वीको छायामा पर्नेछ । अनि जुनबेला चन्द्रमामा पृथ्वीको छाया परिसकेको हुँदैन, त्यसबेला चन्द्रमा पहिलेभन्दा ठूलो तथा चम्किलो देखिने छ ।
बुधबारको सुपर मुन वर्ष सन् २०२१ को दोश्रो सुपरमुन हो । यसअघि, गत अप्रिल २६ मा पहिलो सुपर मून देखिएको थियो । हुन त यो पटकको चन्द्रग्रहण नेपालबाट देख्न पाइने छैन । किनकि आकाशमा चन्द्रोदय हुनु अगाडि नै चन्द्रग्रहणको अवधि सकिने छ । तथापि, उत्तर अमेरिका, पश्चिमी र दक्षिणी अमेरिका र पूर्वी एसियाली मुलुकहरूमा खग्रास चन्द्रग्रहण देखिनेछ । त्यस क्रममा १४ देखि १५ मिनेटसम्म रातो चन्द्रमा देखा पर्नेछ ।
खगोलविद्हरूका अनुसार हरेक अढाई वर्षमा एकपटक चन्द्र ग्रहणको बेला रातो चन्द्रमा देखिन्छ ।