बिन्ती छ ब्युँझिदेऊ

तरङ्गीत कल्पनाहरूको रूप अनेक्, तर अदृश्य शक्तिशाली तिमी एक प्रतीक
सुखमा तिम्रो नाम दुःखमा तिम्रो सहारा खोजें,
डरै डरमा खोजेर हिँड्दा आखिर आफूभित्रै पाएँ ।
केही पाउन म कुनै भाकल गर्दिन आशीर्वादका हातहरू तिमी फिँजाइदेउ
कही कतै अञ्जानमा बाटो बिराउन पुगें भने
प्रायश्चितको महशुस मलाई गराइदेऊ ।
हजार गल्तीमा पनि माफी दिने तिमी महान् छौ
तिम्रो गल्तीले कसैको जीवन बदलिदिन्छ ।
करोडौं असहायहरूको आशा, विस्वास को दियो हौ
आतङ्कको अन्धकार छायो तिम्रो अनुकम्पामा, संसार फेरि उज्यालो बनिदिन्छ ।
चीर निन्द्राबाट अब बिन्ती छ ब्युँझिदेऊ,
परीक्षाको घडीले धैर्यको बाध छोड्न थाल्यो ।
आत्मग्लानीका आँसुहरू यहाँ धेरै बगिसकें,
धरतीमा उत्रिएर तिमी सबको आँसु पुछिदेऊ ।
– अरूणा प्रधान (हाल पोर्चुगल)