शुक्र ग्रहमा दुईवटा अन्तरिक्ष मिसन पठाउने नासाको तयारी
काठमाडौं । सौर्य मण्डलकै सबैभन्दा तातो मानिएको शुक्र ग्रहमा पनि दुई अन्तरिक्ष मिसन पठाउने अमेरिकी अन्तरिक्ष निकायको तयारी रहेको छ ।
शुक्र ग्रहबारे जान्न दुईवटा अन्तरिक्ष मिसन सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन गर्ने नासाका प्रशासक बिल नेल्सनले जनाएका छन् । यसअघि, नासाले शुक्र ग्रहनजिक म्याजेलन मिसन सन् १९९० मा पठाएको थियो ।
‘डा भिन्ची प्लस’ नामक पहिलो मिसनले सो ग्रह कसरी बनेको र विकसित भएको भनेर पत्ता लगाउने जनाएको छ । शुक्रग्रहमा कुनै समय महासागर थियो भन्ने बताइरहँदा त्यसबारेको यथार्थ पनि यसले पत्ता लगाउने नासाको दाबी छ ।
दोस्रो मिसन ‘भेरिटास’ले शुक्रग्रहको सतहको नक्साङ्कन गरेर त्यसको भौगोलिक इतिहासबारे जानकारी दिने जनाइएको छ । राडारको प्रयोग गरेर त्यहाँ ज्वालामुखी विस्फोट तथा भूकम्प भइरहन्छन् कि भनेर पनि हेरिने बीबीसीले जनाएको छ ।
पृथ्वी जीवन्त भए पनि सबैभन्दा नजिकको ग्रह शुक्र किन आगोको गोला बन्यो भन्ने जिज्ञासा अहिलेसम्म वैज्ञानिक तहमा पनि शान्त भएको छैन । यसबारेको तथ्य पनि बाहिर ल्याउने नाशाको लक्ष्य छ ।
शुक्र ग्रहको सतहको तापक्रम नै ५०० डिग्री सेल्सियस रहेकोले यसबारेको अध्ययन चुनौतीपूर्ण ठानिएको छ ।