तिमी
– रवि किरण पौडेल
मेरो शरीर भित्र रगत होइन तिमी बगे जस्तो लाग्दछ
मैले फेर्ने श्वास होइन तिमी नै हो जस्तो लाग्दछ
आँखामा नानी होइन तिमी नै बसे जस्तो लाग्दछ
छाती भित्र मुटु होइन तिमी नै रहे जस्तो लाग्दछ ।
शब्द बोल्छु म तिमी नै बोले जस्तो लाग्दछ
पाइला चाल्छु म तिमी नै हिँडे जस्तो लाग्दछ
म हाँस्दा म होइन तिमी हाँसी रहेकी हुन्छ्यौ
म पीरमा झोक्राउँदा म होइन तिमी चिन्तित हुन्छ्यौ ।
मेरा लागि साना–साना खुसी खोज्ने तिमी
दु:ख पीडा लुकाएर मेरै लागि हाँस्ने तिमी
मेरा चाहाना र हठ भित्र समाहित हुने तिमी
आफै भित्र–भित्रै जलि मेरो दीप बन्ने तिमी ।
तिम्रो लक्ष्य तिम्रो यात्रा म भित्र नै खोज्ने तिमी
सफा आकाश न्यानो हावा मेरै लागि रोज्ने तिमी
मेरो नाममा प्रश्न उठ्दा तर्सने तिमी
सदा–सदा सुन्दर फुल झैँ सजाउन खोज्ने तिमी !!