६१ लाख रुपैयाँ पारिश्रमिक लिएको खबर गलत: माग्ने बुढा

काठमाडौं — चर्चित अभिनेता केदार घिमिरे (माग्ने बुढा)ले आफूले फिल्मबाट ६१ लाख रुपैयाँ पारिश्रमिक लिएको खबर पूर्णरूपमा गलत भएको खण्डन गरेका छन्।
आइतबार राजधानीमा आयोजित मिसेस नेपाल वर्ल्ड २०२५ को पत्रकार सम्मेलनमा केदारले स्पष्ट पारे, फिल्मको प्रचार र फण्डाका लागि निर्माताले भनेको कुरा मात्रै उनले बोलेको हो र उनले त्यो रकम कहिल्यै लिएको छैन।
उनले भने, “मैले त्यो रकम लिएको होइन। कति लिएको भन्ने म सार्वजनिक गर्न चाहन्न, तर त्यो रकम गलत हो।” उनले थपे, “निर्माता मुनाल घिमिरेले मलाई बोलाउनुभएपछि मात्र मैले त्यो कुरा बोलेको हुँ।”
यसअघि असार महिनाको पहिलो साता फिल्म ‘माग्ने राजा’ का निर्माता मुनाल घिमिरेले पत्रकार सम्मेलनमा केदारलाई ६१ लाख रुपैयाँ पारिश्रमिक दिएको दाबी गरेका थिए। त्यो खबर केही मिडियामा महँगो कलाकारका रूपमा प्रचारित भयो।
तर, महिना नबित्दै सोही निर्माता मुनाल घिमिरेले उक्त दाबीलाई ‘हाइप’ मात्र भएको भन्दै खण्डन गरेका छन्। शनिबार छायांकन भएको ‘कमेडी नाइट विथ च्याम्पियन्स’को नयाँ एपिसोडमा मुनालले पारिश्रमिकबारेको गलत कुरा बोलेका थिए, जुन तीन हप्तापछि प्रसारण हुने तयारीमा छ।
केदारले भने, “निर्माताले ‘कमेडी नाइट’मा पारिश्रमिकबारे गलत कुरा बोलेपछि मलाई पनि प्रेसमिटमा सत्य बोल्न सजिलो भयो। मैले अहिलेसम्म कतै ६१ लाख लिएको भनेको छैन।”
उनले थपे, “६१ लाख लिएको प्रमाणित गर्नेलाई म ६१ लाख रुपैयाँ नै दिन तयार छु।”
केदारको मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’ तीजमा प्रदर्शनका लागि तयार हुँदैछ। साथै, ‘माइतीघर’ दशैंमा, ‘जेरी अनटप’ तिहारमा र ‘जहाजैमा’ फागुनमा प्रदर्शन हुने तयारीमा छन्।