लेख्दा मसँग चारथरिका मसी हुन्छन् : साहित्यकार पराजुली

साहित्यकारहरु सधै अरुका कथा मात्रै लेख्दैनन्, कहिलकांही आफ्नै कथाव्यथा पनि उदांगो पारिदिन्छन् । गतवर्ष राजेन्द्र पराजुलीले एउटा संस्मरात्मक कृति लेखे ‘कोटेश्वरको केटो’ । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले यो वर्ष सोही कृतिलाई उत्कृष्ट साहित्यिक कृति २०२० वाट पुरस्कृत गरेको छ र आज सो पुरस्कार हस्तान्तरण हुंदैछ । यसै सेरोफेरोमा इनेप्लिजले साहित्यकार पराजुलीसंग छोटो कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानी :

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित उत्कृष्ट साहित्यिक कृति पुरस्कार तपाइले लेख्नुभएको संस्मरणात्मक कृति कोटेश्वरको केटोले प्राप्त गरेकोमा वधाइ दिन चाहन्छौं । यस्ता पुरस्कारहरुले लेखकलाई कस्तो महसुस गराउंछ ?

पुरस्कार मेरा निम्ति महत्वपूर्ण कुरा कहिल्यै रहेन । पुरस्कारले माग्ने या खोज्ने गणितमा म सधैं कमजोर रहँदै आएँ । नेपालमा होलान् त्यस्तै दुई–पाँच सयवटा पुरस्कार, ती अधिकांश गणितमा आधारित छन्, रचनाको स्तरमा होइन । यति धेरै पुरस्कार भएको देशमा मलाई पुरस्कारले दायाँबायाँबाट हेर्दै नहिँडेका पनि होइनन्, तर तिनलाई पक्रने गणितको ज्ञान र त्यो सिक्ने चाहना मभित्र कहिल्यै पलाएन । त्यसैले त लेखनयात्रामा झण्डैझण्डै चार दशकमा उक्लिनै लागेको मैले यो पहिलो साहित्यिक पुरस्कार पाएको छु । यो पुरस्कारले मलाई आफ्नो पछिल्लो कृतिलाई पाठकबाट स्वीकृति पाएको महसुस हुन गराएको छ ।

तपाइले कथा, उपन्यास र कविता पनि लेख्नु भएको छ, तपाइका कथाहरु सर्वाधिक पाठकले मन पराउंछन् । यो संस्मरात्मक कृतिलाई झन् धेरै पाठकले मन पराए । संस्मरण मनको नजिक हुने भएकोले कि तपाइले अझ उत्कृष्ट शैलीमा लेख्नुभएकोले मन पराइएको जस्तो लाग्छ ?

लेख्दा मसँग चारथरिका मसी हुन्छन् । मस्तिष्कको मसी, मनको मसी, मुटुको मसी र कलेजीको मसी । कोटेश्वरको केटोमा मैले यी चारैथरि मसी प्रयोग गरेको छु । पुस्तकमा चार अध्याय छन् । अक्षरहरुसँग शीर्षकको अध्यायमा मैले मस्तिष्कको मसी प्रयोग गरेको छु । सुफियाना साँझमा मुटुको मसी, अनुहारहरुमा मनको मसी अनि पहिलो अध्याय कोटेश्वरलाई पूरै कलेजीको मसीले लेखेको छु । बुझ्दै जाँदा, पढ्दै जाँदा, महसुस हुँदै जाँदा एउटा लेखकले लेखेको सबथोक कहाँ बाँच्दो रहेछ र ? बाँच्ने त उही कलेजीको मसीले लेखेको रचना नै त रहेछन् । तपाईंले भनेजस्तै मैले कथालाई मूल विधा बनाउँदै आएको छु । कविता निकै कम लेखेको छु । उपन्यास लेख्ने प्रयत्न सफल हुन सकिरहेको छैन । विगत एक दशकमा दुई वटा उपन्यास लेख्ने खोजेँ, लेखेर सिध्याएँ पनि तर ती मन परेनन् र डिलिट गरिदिएँ ।

प्रकाशित कृतिहरुलाई प्राप्त हुने पुरस्कारले विक्रीमा कत्तिको प्रभाव पार्छन जस्तो लाग्छ ?

कुनै पनि पुरस्कारले कृति बिक्रीमा केही न केही सहयोग पुग्छ नै । तर नेपालमा मदन पुरस्कार पाएका कतिपय कृति बिक्री बढेको देखिन्छ, अरु पुरस्कारले खासै बिक्रीमा मद्दत गरेको देखिँदैन । इन्जा पुरस्कार बिलकुलै नयाँ छ, यसको प्रभाव कस्तो पर्ला अहिले नै भन्न सकिन्न । तर पनि मेरा प्रकाशकले कोटेश्वरको केटोलाई इन्जा पुरस्कार दिने निर्णयको समाचारले बिक्रीमा थोरै भए पनि प्रभाव पारेको बताएका छन् ।

एउटा साहित्कार भएकोले अव यो विधामा लेख्न पाए हुन्थ्यो तर लेख्न पाएको छुइन जस्तो लाग्ने केही छ ? अथवा आफुले लेख्न छुटाएको केही छ भन्ने लाग्छ ? साहित्यमा लागेर के पाउनुभयो, के गुमाउनुभयो ?

मलाई अब यो विधामा लेख्न पाए हुन्थ्यो भन्ने लाग्दैन । मैले उत्कृष्ट लेख्न पाए हुन्थ्यो भन्नेचाहिँ लागिरहन्छ, विधा जुनसुकै होस् । त्यो उत्कृष्ट रचना लेख्नका निम्ति म मेहनत, अध्ययन र भ्रमण पनि गरिरहेको छु ।
मैले साहित्यमा लागेर केही पनि गुमाएको छैन, यसले मलाई यति महत्वपूर्ण कुरा दिएको छ कि त्यो अरु केहीले पनि दिन सक्दैन । साहित्यले कसैसँग केही लिन्छ भन्ने कुरामा मेरो रत्तिभर विश्वास छैन, यसले केवल दिन्छ मात्र, तर लिन जान्नुपर्छ । म साहित्यबाट आनन्द लिइरहेको छु, यो आनन्द मलाई अरु केहीले दिन सक्दैन । एउटा रचना लेखिसक्दाको आनन्द म शब्दमा वर्णन गर्नै सक्दिनँ । त्यस्तो आनन्द करोड वा अर्ब रुपैयाँले पनि दिन सक्दैन । त्यसैले मैले साहित्यबाट केवल पाएको छु, गुमाएको होइन ।

प्रतिक्रिया दिनुहोस्