पद्धतिगत हिसाबले गणतन्त्र सुरक्षित छ : नरहरि आचार्य

नरहरि आचार्यलाई भेट्दा राजनीतिक नेता भेटेजस्तो महसुस हुंदैन । एउटा विचारक भेटेजस्तो लाग्छ जो सदैव सत्यलाई सत्य र असत्यलाई असत्यनै भन्न सक्छ । एउटा आफन्त भेटेजस्तो लाग्छ, जो राजनीति छाडेर परिवारका विषयमा गफिन सक्छ । धेरै भएको थियो नरहरि दाइसंग कुरा नभएको ।

केही समय अगाडि शारदा भाउजुको म्यासेन्जरमा दाइसंग कुरा गर्न मन लागेको थियो भनेर टेक्स्ट पठाए । भाउजुसंगको एउटा आत्मीयता छ, लोकतान्त्रिक आन्दोलनका समयमा नरहरि दाइ सशस्त्र प्रहरी वल दुवाकोटमा थुनिनु भएको थियो । त्यो वेला भाउजुको जागिर नयां दिल्लीमा थियो । दिल्ली जाने वेलामा शारदा भाउजुले फोन गरेर भन्नुभएको थियो, ‘दाइलाई तपाइहरुको जिम्मामा छाडेर जांदै छु है ।’ भाउजुलाई टेक्स्ट गरेको भोलिपल्ट नै दाइले कल गर्नुभयो । कुराकानी भयो । साह्रै आनन्द लाग्यो ।

नरहरि दाइका केही विचारहरु सार्वजनिक पनि हुन् भन्ने लाग्यो, नरहरि दाइ नेपाली कांग्रेस पार्टीभित्र विचारको रुपमा रहनु भयो । कांग्रेसमा गणतन्त्रको विचारलाई हुर्काउन एउटा अभियन्ता नै वन्नुभयो । अहिले गणतन्त्रको देशमा झण्डैझण्डै वेहालको अवस्था छ । नरहरि दाइ के सोचिरहनु भएको छ त ?

नरहरि आचार्यले केही समसामयिक प्रश्नहरुको उत्तर दिनुभएको छ । प्रस्तुत छ उहांसंगको छोटो अन्तर्वार्ता :

धेरै भयो कुराकानी गर्न नपाएको, दाजुको हालखबर के छ ?

सामान्य लेखपढ गरेर समय बित्छ । वेलाबखत कांग्रेस कार्यसमितिको बैठकमा जाने गरेको छु ।

छयालीस पछि गणततन्त्र स्थापनाका लागि वकालत गर्नेमा तपाँईको नाम बहस र विचार-निर्माण गर्ने व्यक्तिहरूमा अग्रपंतिमा थियो । अहिले गणतन्त्र कस्तो छ ?

गणतन्त्र घोषणा भएको १२ वर्ष भएको छ । संविधानसभाले संविधान बनाएको ५ वर्ष पुगेको छ । पहिलो आमनिर्वाचनमा २ ठूला कम्युनिस्ट पार्टी एक जुट भएका कारण २\३को सरकार बनेको थियो । अहिले कम्युनिस्ट पार्टी नै २ चिरा परेकाले राजनीतिक वातावरण धमिलो छ, अन्यौलग्रस्त छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विधटन गरेकोमा नेकपाका बीच सडकमा समेत २ खेमाका बीच भयानक रानीतिक द्वन्द्व भयो । यसै बीच सर्वोच्च अदालतले प्रतिनिधिसभाले पुनःस्थापन गरिदियो । त्यसैले उनीहरूको मनचिन्ते जस्तो लाग्ने ‘समृद्धिको कार्यक्रम’ पनि सबै लथालिंग भयो । किन सकेनन् ? किन यस्तो भयो ? हामीले राम्रोसँग समीक्षा पनि गर्नुपर्छ। तर पद्धतिगत हिसाबले गणतन्त्र सुरक्षित छ ।

नेपालमा सबै समस्याको जड राजतन्त्र नै हो, भन्ने थियो । राजतन्त्र उन्मूलन भएपछि पनि  नेपालका समस्या त यथावत छन् किन ?

जनताको शासन आएको करिब ६० वर्ष भइसक्ता पनि राजतन्त्रलाई प्रजातन्त्र वा लोकतन्त्रसँग जोड्न सकिएन । त्यसै कारण राजतन्त्रको उन्मूलन भएको हो । त्यसै गरी गणतन्त्र आउनासाथ समस्याहरू स्वतः हट्ने होइनन्, समकालीन नेतृत्वले सबैको सहयोग लिनसक्नुपर्छ । प्रक्रिया र पद्धतिलाई जीवन्त ढंगबाट अनुसरण गरेर नै त्यो सम्भव हुन्छ ।

अहिले गणतन्त्रले आएपछि पनि जनतालाई सेवा प्रदान गर्न सकिएन, किन ? यथार्थमा के भएको हो ? समस्या कहाँ छ ?

शासनमा बस्नेहरू उत्तरदायी हुनै पर्छ । लोकतान्त्रिक शासनको आधारभूत मान्यता नै त्यही हो । यतिखेरको अवस्था हेर्दा भने हामीमा लोकतान्त्रिक संस्कार नै विकसित हुन सकेको देखिन्न। लामो समयदेखि आफ्नै पार्टीभित्रको अन्तर्कलहमा लाग्दा विद्यमान नेकपाको सरकारले उत्तरदायी रूपमा जनतालाई सेवा प्रदान गर्न सकेन।

एकातिर गणतन्त्रवादी शक्तिहरू बीच बढ्दो ध्रुवीकरण, अर्को राजतन्त्रवादीहरूले शक्ति आर्जन गर्दै गएको अवस्था नेपाललाई हिन्दुराज्य नै बनाउन पाए हुन्थ्यो भनेर पर्खिबसेको बाह्य शक्ति । यस्तो तानातानमा गणतन्त्रको रथ कतिको सहज रूपमा अगाडि बढ्ला ?

नेपालमा गणतन्त्रवादी शक्तिहरू सामान्यतया दुई प्रकारका छन् । राजतन्त्रवादीहरू विचारका हिसाबले थोरै होलान्, तर यतिखेर शक्तिका रूपमा छैनन् । ‘बाह्य शक्तिले गणतन्त्र ल्याएको हो’ भन्ने पनि केही मान्छे होलान्। तर त्यो कुरा साँचो लाग्दैन ।

विचारधाराको द्वन्द्व भने सधै अलिअलि रहन्छ ।

नेपाल पटक-पटक अनेक द्वन्द्वमाझमा फस्दै आएको छ र ती द्वन्द्वहरूलाई निकास दिन नेपाली कांग्रेसले सदैव नेतृत्व लिएको छ । तर नेपाली राजनीतिक इतिहासमा कांग्रेस सबैभन्दा कमजोर अवस्था देखिएको छ । कांग्रेसमा नेतृत्व र नीतिको  अब खडेरी नै परेको हो ?

तपाईले भनेको ठीक हो । सातसालदेखि २०७२ सालसम्म महत्त्वपूर्ण अवसरमा नेपाली कांग्रेसले सँधै नेतृत्व गर्‍यो ।तर गत आमनिर्वाचनमा कांग्रेसले राम्रो गर्न सकेन । कांग्रेस नीति भन्दा पनि नेतृत्व कमजोर भएको हो कि ? भन्नुपर्छ ।

अहिलेको कांग्रेस नेतृत्व के गरिरहेको छ ?

अहिले कांग्रेस नेतृत्व चौधौं महाधिवेशको चटारोमा छ ।

अब कांग्रेसले लिनुपर्ने बाटो के हो ? आगामी बाटो तय गर्न अहिलेकै नेतृत्व सक्षम छ कि अर्को नेतृत्व आवश्यक छ ?

यतिखेर महाधिवेशन हुँदै गरेको अवस्था हो । महाधिवेशनमा आवश्यक परेमा नीति र विधान समेत परिवर्तन गर्न सकिन्छ । नेतृत्वको चयन अहिलेको मूल र अनिवार्य जिम्मेवारी हो । एकअर्थमा नीति र कार्यक्रम भन्नु नै वास्तविक नेतृत्व हो । अहिलेको अवस्था चुनौती र जिम्मेवारीको छ । अवको नेतृत्वको जिम्मेवारी आगामी आमचुनावमा विजय प्राप्त गर्नु पनि हो ।

संघीय साथै प्रादेशिक चुनाव पनि महत्वपूर्ण छ । पालिकाको चुनाव, नियम अनुसार झन् छिटै आउँदैछ । यी सबै जिम्मेवारीलाई कुशलता र दक्षतापूर्वक हाक्न सक्ने नेतृत्व पनि चाहिन्छ ।

अबको निर्वाचनमा तपाँइको भूमिका के हुन्छ ? के अब फेरी तपाँइ सक्रिय नेतृत्वमा आउनु हुन्छ ?

निर्वाचन हुँदा पार्टीलाई सकेजति सहयोग गर्छु । उम्मेदवारहरूलाई जिताउने कोसिस पनि मेरो रहन्छ । ‘सक्रियता’को तात्पर्य आफै उम्मेदवार हुने भन्नुभएको हो भने, म आफै चाहिँ उठ्दिन होला ।

प्रतिक्रिया दिनुहोस्